इटहरीमा सञ्चालनमा रहेको सामुदायिक विद्यालयहरू मध्ये उत्कृष्ट विद्यालयको रूपमा जनता माध्यमिक विद्यालयको चर्चा हुने गर्छ ।  उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, राम्रो पठनपाठन सहितका अन्य शैक्षिक गतिविधिका कारण निजी विद्यालय भन्दा जनता मा.वि मा विद्यार्थीको आकर्षण छ । विद्यार्थी मात्रै होइन, अभिभावक पनि छोराछोरी यस विद्यालयमा पढाउन चाहन्छन् । राम्रो नतिजाकै कारण निजी छाडेर सामुदायिक विद्यालय रोज्ने अवस्था यो विद्यालयकै कारण सुरु भएको देखिन्छ ।  भर्खरै सार्वजनिक भएको एसइई परिक्षमा कोसी प्रदेशमै ३.२१  भन्दा माथि उत्तीर्ण हुने सबैभन्दा धेरै विद्यार्थीको सङ्ख्या जनता मा.विको भएको विद्यालयको दाबी छ ।  सामुदायिक विद्यालय कसरी सुधार गर्न सकिन्छ । सामुदायिक भन्ने बित्तिकै नाक खुम्च्याउने अभिभावक र विद्यार्थीको रोजाइमा विद्यालय कसरी बनाउन सकिन्छ ? मुख्य कुरा सामुदायिक विद्यालय सुधार गर्ने मूल मन्त्र के हो ? जनता मा.वि यो अवस्था सम्म कसरी आइपुग्यो भन्ने विषयमा जनता मा.वि. व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालसँग सञ्चार पाटी अनलाइनले गरेको संक्षिप्त कुराकानी :


भर्खरै एसइई को नतिजा आएको छ, तपाईँको विद्यालयको नतिजा कस्तो आयो ? 

समग्रमा हेर्दा केही विद्यार्थीको एन जी पनि आयो । १४७ जना विद्यार्थी विशिष्ट श्रेणीमा उर्तिर्ण भएका छन् । २९९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । मलाई लाग्छ,कोसी प्रदेशमा  ३.२१  भन्दा माथि उत्तीर्ण हुने सबैभन्दा धेरै विद्यार्थी सङ्ख्या जनता माध्यमिक विद्यालयको हो । 

सामुदायिक विद्यालयमा विद्यार्थी नपढाउने प्रचलन अझै पनि छ, सामुदायिक भन्ने बित्तिकै नाक खुम्च्याउने चलन अहिले पनि छ तर यो विद्यालयमा यति ठुलो सङ्ख्यामा विद्यार्थी कसरी भए ? 

म २०७५ साल असार ७ गते यो विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएँ । त्यो बेला ७७४ जना विद्यार्थी पढ्थे ।  १२ वटा कक्षा कोठा थिए । अहिले ३५सय हाराहारी विद्यार्थी पढ्छन् । म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि ९७ वटा कक्षा थपिएका छन् । ३ वटा बस समुदायकै सहयोगमा थप्न सफल भएका छौँ । यो विद्यालय यहाँ सम्म आइपुग्नेको एउटै कारण अभिभावकको विश्वास, समुदायको माया र शिक्षकको मेहनत सबैको साझा प्रयासले हामी यहाँ सम्म आइपुगेका छौँ । 

अभिभावकको विश्वास जित्न कत्तिको गाह्रो हुँदो रहेछ ? 

सुरु सुरुमा अलि गाह्रो थियो । पछि नतिजाले त्यसलाई पुष्टि गर्‍यो । यहाँ सामुदायिक विद्यालय वा जनता माध्यमिक विद्यालय प्रतिको आकर्षण एकदमै धेरै, थेगिनसक्नु छ । हाम्रो विद्यालयमा निजी विद्यालयबाट ल्याउने क्रम धेरै छ । निजी विद्यालयका सञ्चालकहरू  तथा लगानीकर्ताहरूले आफ्ना नानीहरू त्यहाँबाट झिकेर हाम्रोमा पढाउन ल्याउनुभएको छ ।यसले पनि निजीको भन्दा जनता माध्यमिक विद्यालयको पढाई राम्रो छ भन्ने बुझाई स्थापित छ ।  


तपाईँहरूले २ वटा मोडालिटीमा अध्यापन गराउन थाल्नुभयो । अङ्ग्रेजी मिडियम र नेपाली मिडियमबाट पढाई सुरु गर्नुभयो, पैसा लिएर पढायो भन्ने आरोप  थियो ? 

सुरु सुरुमा जसले पैसा तिर्नुभयो ।उहाँहरू कन्भिन्स हुनुहुन्थ्यो । राज्यबाट आवश्यक दरबन्दी नदिएपछि, पर्याप्त भौतिक पूर्वाधार नभए पछि विद्यालयलाई सानो सहयोग गर्दा विद्यालय सुधार हुन्छ । मेरो नानी यहाँ पढ्छ भने म पैसा तिर्छु भन्नेमा उहाँहरू क्लियर हुनुहुन्थ्यो । तर जसले पैसा तिरेको थिएन । उहाँहरूले यो सरकारी विद्यालयमा पैसाको कुरा किन ? भन्दै विरोध गर्नुभयो । धेरै प्रश्न गर्नुभयो । तर उहाँहरूलाई जवाफ ती अभिभावकहरूले नै दिनुभयो,जसले यहाँ बच्चा पढाई रहनुभएको थियो । तिनै अभिभावकहरूले सहयोग गरेकै कारण वार्षिक ५ करोड १३ लाख भन्दा बढी रकम शिक्षकको तलब भत्तामा खर्च गछौँ । 

सामुदायिक विद्यालयमा दरबन्दीको समस्या छ, आवश्यक शिक्षक नपाउने समस्या छ, तपाईँहरूले शिक्षकको व्यवस्थापन कसरी गर्नुभयो ? 

हाम्रोमा जम्मा जम्मी ३२ जना शिक्षक, कर्मचारी राज्य कोषबाट पैसा तलब लिने हुनुहुन्छ । तर बाँकी १४८ शिक्षक कर्मचारी विद्यालयको आन्तरिक स्रोतबाट, खास अभिभावकबाट प्राप्त भएको सहयोगबाट तलबको व्यवस्थापन गर्ने गरेका छौँ । सबै विषयका शिक्षकहरू बाल कक्षा देखी १२ कक्षा सम्मका सबै विषयका विषयगत शिक्षकहरू न्यूनतम मास्टर डिग्री गरेका हुनुहुन्छ । विषयगत दक्षता राख्नुहुन्छ, प्रविधिमा पनि पोख्त हुनुहुन्छ । शिक्षक व्यवस्थापनमा कुनै समस्या छैन । 

अभिभावकबाट सानो सानो सहयोग लिन सकियो भने आन्तरिक स्रोतबाट पनि सामुदायिक विद्यालय सुधार गर्न सकिने रहेछ ? 

सामुदायिक विद्यालयहरूलाई सुधार गर्ने हो भने अभिभावकहरूलाई विद्यालयमा जोड्ने,समुदायलाई विद्यालयमा जोड्ने र शिक्षकहरूलाई प्रोत्साहित गर्ने, योग्य सक्षम शिक्षकको पठनपाठन र समुदायको प्रत्यक्ष सहयोगमा व्यवस्थापन गर्ने । सामुदायिक विद्यालय सुधार गर्ने मूल मन्त्र नै यही हो । 
सामुदायिक विद्यालय गरिबका छोराछोरी पढाउने भन्ने धारणा छ यहाँहरूले कसरी धनीका पनि छोराछोरी पनि पढाउने बनाउनुभयो ? 
हाम्रोमा ठिक उल्टो छ । एक वर्ष अघि अभिभावकहरूको सर्वेक्षण गरेर हेर्दा २७ जना डाक्टरका छोराछोरी, ९७३ जना अफिसरका छोराछोरी र ७४८ जना शिक्षक, कर्मचारीका छोराछोरी पढ्नुहुन्थ्यो । 

सुरुमा ल्याउन कत्तिको चुनौतीपूर्ण थियो ? 

सुरुमा ल्याउन त निकै चुनौतीपूर्ण थियो । म व्यवस्थापन समितिको अध्यक्ष भएपछि मेरो नानीहरू पनि निजी विद्यालयमै पढ्थे । सुरुमा मैले नै नानीलाई ४ कक्षामा ल्याएर भर्ना गरेँ । पहिलो बैठकबाट नै विद्यालयका शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति, विषयगत समिति लगायत सबै समितिका व्यक्ति सबैका छोराछोरी यहीँ विद्यालयमा पढाउने निर्णय गर्याँै । सबैले यही विद्यालयमा ल्याएर पढाउन थालेपछि विश्वासको वातावरण बन्यो । अर्को तर्फ हामी मन देखी नै विद्यालय सुधार गर्न चाहन्छौँ भन्दै अभिभावकको घर घरमा पुगेर नानी दिनुहोस्, तपाईँहरूको विश्वासलाई मर्न दिँदैनौ भनेर भन्यौँ । पहिलो वर्ष नै २४० विद्यार्थी भर्ना गर्ने भनेर लिइएको इन्ट्रान्स परीक्षामा एक हजार भन्दा बढिले परीक्षा दिए । हामीले २४० विद्यार्थीलाई एसइई मा सहभागी गरायौँ । शतप्रतिशत नतिजा आएपछि अर्को वर्ष देखी हामीले अभिभावकहरूलाई नानी दिनुस् भन्दै जानु परेन । 

सामुदायिक विद्यालयका शिक्षकहरू कक्षा कोठामा कम,बाहिर बढी हुने समस्या अझै पनि छ, तपाइकोमा पनि यो समस्या थियो होला कसरी व्यवस्थापन गर्नुभयो ?

त्यसको दुई वटा कारण छन् । एउटा हामी शिक्षकलाई प्रोत्साहित गर्छौँ । र कार्यसम्पादन मूल्याङ्कन सन्तोषजनक भएन,कहीँ नियत बस नै त्यस्तो भएको पाइए हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ । कानुनले दिएको अधिकार क्षेत्र भित्र रहेर कारबाही पनि गछौँ । तर आफ्नै छोराछोरी नै विद्यालयमा पढ्ने भएपछि त्यो कुरा धेरै मिलेर जाने रहेछ । आफ्नो नानी कक्षामा भएपछि शिक्षकले त्यसो गर्नुहुन्छ भन्ने कल्पनै गर्न सकिँदैन । तर त्यस्तो भेटियो भने दुःखका साथ भन्नुपर्ने हुन्छ । विद्यालयको सुधारका लागि सन्तोषजनक काम नभएपछि केही शिक्षकहरूलाई बिदा पनि गर्नुपरेको थियो । तपाई बाट यहाँ पार खाँदैन भनेपछि केहीले राजीनामा पनि दिनुभयो । 

सामुदायिक विद्यालयमा धेरै नीतिगत उल्झन छन्, पालिकाले सर्पोट गरेको छ ? 

हाम्रो राज्य व्यवस्था नै यस्तै छ । आफू भन्दा माथिको निकायको बारेमा बोल्न पनि ग्राहो छ । हामीलाई इटहरी उपमहानगरपालिकाले आफ्नो क्षमताले भ्याए सम्म आवश्यक सहयोग गरेको छ । प्रदेश सरकारले पनि समन्वय गरेर सकेको सहयोग गरेको छ । सङ्घीय सरकारले विशेष सहयोग गरेको छ । सबैको साझा प्रयासले नै अहिले हामी यहाँ छौँ । तर सोचे जति भने  छैन । भौतिक पूर्वाधारमा सहयोग भए पनि शैक्षिक जनशक्ति, शिक्षक व्यवस्थापनमा काहीँबाट पनि सहयोग भएको छैन । त्यो अलि दुः खत पक्ष हो । 

अहिले प्लस टु कक्षाहरू सञ्चालन भएको छ, के के विषयमा अध्यापन गराउँदै हुनुहुन्छ ? 

विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षा विषय पढाउँदै छौँ । यस शैक्षिक सत्रमा सबै विषयको गरी एक हजार विद्यार्थी पढाउने गरी क्षमता विकास गरेका थियौँ । पहिलो पटकको प्रवेश परीक्षामा ६१३ विद्यार्थी सहभागी भएका छन् । विज्ञान विषयमा हामीकहाँ धेरै भिड छ । १२० जना विद्यार्थी लिने भनेकोमा ३०३ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । बाँकी अरू विषयमा सहभागी भएका छन् । 

j school 1

तपाई आफै पनि सामुदायिक विद्यालय महासङ्घको केन्द्रीय सचिव हुनुहुन्छ, यहाँको जस्तै सामुदायिक विद्यालय सुधार गर्ने हो भने के गर्नुपर्छ ? 

मैले अघि पनि भने सामुदायिक विद्यालयको सुधारको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको समुदायलाई विद्यालय भित्र ल्याउने । सामुदायिक विद्यालयमा धेरैले भन्छन्, समुदायमा लाँदा राजनीति हुन्छ भन्छन् । तर खास कुरा चाहिँ जब अभिभावकले विद्यालयको नेतृत्व गर्छ । समितिमा आफ्नो नानी पढाउने मान्छे हुन्छ । त्यस पछि उसले धेरै कुरा विद्यालयको हितमा सोच्न थाल्छ । त्यसैले समुदायमा विद्यालय छोडेर, समुदायको सहयोगबाट विद्यालय सञ्चालन गर्न सकिन्छ ।  

तर सामुदायिक विद्यालयहरूले अभिभावक विद्यालयको गेट भित्र नै छिर्न चाहँदैनन् भन्छन् नि  ?

त्यस्तो होइन । अभिभावकलाई विद्यालय भित्र छिर्ने बनाइएन । आफ्नो नानी विद्यालयमा पढ्छ, त्यो विद्यालयले तपाईँको नानीको हितको लागि आइदिनुस् भन्दा उहाँहरू आउनुहुन्छ । अभिभावकको पनि बाध्यता छ । रोजीरोटी गर्नुपर्छ । श्रम गर्न जानुपर्छ । अभिभावकलाई दोष दिएर विद्यालय सुधार भएन भन्ने कुरा राम्रो होइन । अभिभावकले समय नदिँदा विद्यार्थीले धेरै अङ्क ल्याएन होला तर कक्षामा पढाएर ३५ अङ्क भनौँ वा पास अङ्क ल्याएन भने विद्यालय र शिक्षक प्रति नै प्रश्न हो ? त्यसैले अभिभावकलाई विद्यालयसँग जोड्ने योजना बनाउनुपर्छ । त्यही नानीको लागि अरब गएको अभिभावक, गिटी कुट्दै छ, बालुवा बोक्दै छ, श्रम गर्दै छ, भारी बोक्दै छ भने आफ्नो नानीको राम्रो हुन्छ भने कुन अभिभावक विद्यालय जाँदैन होला ।यो पत्याउने कुरा हो र ? तर हामीले योजनाबद्ध ढङ्गले अभिभावकलाई बुझाएर विद्यालय सम्म ल्याउन सक्नुपर्छ ।अभिभावकहरू आउनुहुन्छ । अभिभावकै सहयोगमा विद्यालय सुधार गर्न सकिन्छ ।