सुनसरी । बचतकर्ताको रकम अपचलन आरोपमा विभिन्न सहकारी संस्था विरुद्ध धनकुटा, सुनसरी र उदयपुरमा उजुरीको संख्या बढ्दो छ । सहकारी सञ्चालकहरूले बचतकर्ताको साँबाब्याज फिर्ता गर्न अटेर गरिरहेका छन् । उजुरी बढे पनि सहकारी समस्या समाधानमा प्रशासन र स्थानीय तहले ठोस काम गर्न सकिरहेका छैनन् ।

उदयपुरको गाईघाटमा सञ्चालित तुलसी सहकारी संस्था चार हजार बढी बचतकर्ताको झन्डै २३ करोड रुपैयाँ ठगी गरी फरार भएको छ । गाईघाटमा ब्यबशायिक मार्ट खोलेर त्यसैको आडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागे पनि छानबिन र कारबाही भएको छैन । उदयपुरकै हिमालयन, साझा र जनजागृति बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक कार्यालयमा ताल्चा लगाएर बेपत्ता भएका छन् । सञ्चालक बेपत्ता भएपछि आफूहरू पीडित बनेको उदयपुरका बचतकर्ता गणेश राउतले बताए ।

बचत रकम हिनामिना र अपचलनको आरोपमा सुनसरीको इटहरीमा सञ्चालित आधा दर्जन सहकारी संस्था विरुद्ध उपमहानगरपालिकाको सहकारी शाखामा उजुरी परेको छ । उजुरीको क्रम बढे पनि सहकारी संस्थाका सञ्चालक कारबाहीको दायरामा आउन सकेका छैनन् । तर आफूहरूले कारबाही प्रक्रिया अघि बढाइसकेको इटहरी उपमहानगरपालिका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले बताए ।

धनकुटा नगरपालिकामा सञ्चालित विभिन्न बचत तथा ऋण सहकारी संस्था विरुद्ध करिब पाँच करोड रुपैयाँ वित्तीय अपचलनको आरोपमा उजुरी परेको छ । बचतकर्ताहरूले आफ्नो रकम मासेको भन्दै सहकारी संस्थामाथि छानबिनका लागि दबाब बढाए पछि धनकुटा नगरपालिकाले सहकारी संस्थाका खराब ऋणी सदस्यहरूको तीनपुष्ते विवरण पेस गर्न सञ्चालक सम्मतिलाई पत्राचार गरेको छ । धनकुटा नगरपालिका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले जानकारी दिए ।

स्थानीय प्रशासन र स्थानीय तहमा रहेका सहकारी शाखामा ठगीका उजुरी लिएर पुग्ने बचतकर्ताको संख्या बढ्दो छ । तर बचत कर्ताको रकम फिर्ता गराउने तथा आरोप लागेका सहकारी संस्थामाथि छानबिन र कारबाही भने भएको छैन । सहकारी संस्थाका सञ्चालकहरू आफूले गरेको लगानी नउठ्दा सर्वसाधारणको बचत फिर्ता गर्न नसकिएको भनिरहेका छन् । खराब ऋणीका कारण आफूहरू परिबन्दमा परेको उनीहरूको तर्क छ ।

बचतकर्ता सर्वसाधारणको रकम अपचनमा संलग्न सहकारी संस्थाका सञ्चालक माथि छानबिन र कारबाहीका लागि उठिरहेको आवाजबारे राज्यका नियामक संयन्त्र जानकार छन् । तैपनि सहकारी समस्या समाधानका लागि स्थानीय स्तरमा भइरहेको प्रयास फितलो देखिएको पीडितहरूको गुनासो छ ।