विराटनगर । नेपालमा बाँझोपनाको समस्या बढ्दै गएको अवस्थामा  कृत्रिम गर्भधारणका विषयमा समाज अझै जानकार नभएको पाइएको छ। विराटनगरमा ओरेक नेपालको आयोजनामा  यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सञ्चारकर्मीको भूमिकाका बारेमा भएको कार्यक्रममा निसन्तान तथा बाँझोपनाको समस्यालाई समाजले सहज रूपमा लिन नसकेको बताएको हो । 
यौन र प्रजनन अधिकारमा बाँच्न पाउने, स्वास्थ्य, सूचना, शिक्षा, आत्मसम्मानको अधिकार, गोपनीयता र पारिवारिक जीवनको अधिकार, समानता र गैर भेदभावको अधिकारको बारेमा  समाजलाई थाहै नहुने गरेको ओरेकले जनाएको छ ।  निसन्तान तथा बाँझोपनाको बारेमा बढी दोष महिलालाई लगाउने गरिएको छ यो विषय समाजमा अहिले पनि ब्यप्त रहेको ओरेकका अनुसन्धान संयोजक सुमित्रा पौडेलले बताइन् ।  बाँझोपन र निःसन्तानका समस्या महिला पुरुष सबैमा हुने भए पनि बुझाइको अभावका कारण समाजलाई बुझाउने काममा सबै क्षेत्रको हुने बताइन्  ।  अहिले पनि कृत्रिम गर्भधारण ३ प्रकारले हुँदै आएको समेत जानकारी दिइएको थियो । सरोगेसी प्रजनन र गर्भावधि सरोगेसी, जेनेटिक र परम्परागत सरोगेसीको रूपमा कृत्रिम गर्भधारण गर्ने आधुनिक  प्रविधिहरू भित्रिएको छ । क्लिनिकल बाँझोपन, सामाजिक र परिस्थितिजन्य बाँझोपनका कारण धेरै दम्पती बाझोपनको कारण समस्यामा रहेको बताइएको छ।  ओरेक विराटनगरका कार्यक्रम संयोजक सरस्वती दनुवारले समाजमा भइरहेको बाँझोपनाको बारेमा अध्ययन तथा अनुसन्धानको कामहरू भइरहेको उनले जानकारी दिइन्  ।  निःसन्तानपनको कारण महिला घरेलु हिंसामा पर्ने गरेको छ।  निःसन्तानपनको समस्या एउटा लिङ्गमा मात्रै नहुने भए पनि महिलाले धेरै उत्पीडन सहनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनको २०१२ को प्रतिवेदनको अनुसार, विश्वमा करिब १०–१५ प्रतिशत विवाहित दम्पतीहरू सन्तानविहीन रहेको देखिएको छ । नेपालमा निसन्तान दम्पतीको सङ्ख्या यकिन छैन ।  सरकारी अस्पतालहरूमा अहिलेसम्म कुनै पनि निसन्तान दम्पती कोलागि उपचारको व्यवस्था समेत छैन ।