विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलकनाथ मण्डल उद्योगले गर्ने प्रदूषणका कारण हैरान छन् । एक दर्जन बढी उद्योग उनकै वडामा रहेको कारण हरेक दिन स्थानीयको गुनासो सधैँ नै फोहोर, प्रदूषण र उद्योगले काम नदिएको समस्या लिएर आउनेहरू धेरै छन् । त्यति मात्र हैन उद्योगका कारण स्वास्थ्यमा परेको समस्याको बारेमा पनि स्थानीका गुनासा वडा कार्यालयमा आउने गरेको छ ।
यो वडामा उद्योगहरू धेरै रहेकोले उद्योगले पार्ने प्रदूषण समस्याको रूपमा रहेको वडा अध्यक्ष मण्डलले बताए । उद्योगबाट निस्कने एसिड सहितको पानी बाहिर फाल्दा स्थानीयको श्वास प्रश्वाससँग जोडिने भएकोले निक्कै हानिकारकको रूपमा देखिएको छ । कानुन अनुसार यसरी उद्योगका हानिकारक पानीहरू बाहिर निकाल्न मिल्दैन, अध्यक्ष मण्डलले भने । यसरी निस्कने पानी उद्योगमा एसिडले काम गर्दासम्म बाहिर निकाल्दैनन् जब काम गर्न छाड्छ अनि त्यो पानी बाहिर निकाल्ने र त्यसको असर आम नागरिकको जीवनमा पर्ने गरेको छ । यति मात्र हैन यो वडाको समस्याको रूपमा रहेको उद्योगबाट निस्कने धुवाँको मुस्लोका कारण पनि स्थानीयले पटक पटक समस्या लिएर आउने गरेका छन् ।
वडामा रहेका प्रिमियम, पायोनियर, हुलाक, कमला रोलिङ, च्याओ बिरो उद्योगका कारण दुर्गन्ध फैलिएको छ । त्यस्तै कोहिनुर प्लाई , सिटी गोल्ड प्लाईले समेत धुलो, धुवाँ तथा उद्योगबाट निस्किएको पानीलाई व्यवस्थित गर्न सकेका छैनन् । पटक पटक छलफल चलाए पनि बेवास्ता गर्दा उद्योगले गर्ने प्रदूषण नियन्त्रणमा निक्कै समस्या सिर्जना भएको उनले बताए । उद्योगीहरूले अटेर गर्ने समस्याले गर्दा प्रदूषण अहिले बुढीगंगा गाउँपालिकाको समस्याको रूपमा रहेको उनको गुनासो छ ।
वडा ३ मा मात्र समस्या हैन वडा नम्बर ५ को समस्या पनि उस्तै नै रहेको छ । बुढीगंगा ४ मा रहेको स्वस्तिक आलयले डिजेल मार्फत फाइरिङ, पत्थर कोइला मार्फत समेत फाइरिङ गर्ने गरेको छ । ग्रिन प्लाईबाट भुसको धुलो, फुजिमा आयलमा गन्ध आउने तथा धुवाँको समस्या छ । एसियन फिड्समा चिम्नीबाट धुवा बाहिर फाल्ने गर्दा भुसको धुलो (छाई) उडेर हिँड्नै नसक्ने अवस्था छ । फ्याक्ट्री बन्यो, स्वीकृति पनि पायो तर आम गाउँवासीलाई थाहै भएन । समस्याको बारेमा कसैले सोधेन जसले गर्दा अहिले उद्योग र स्थानीय बिच सधैँ जसो विवाद छ ।
उद्योग सञ्चालनमा आएपछि रोजगारी पाउँला भनेर पर्खिएर बसेका स्थानीयलाई उद्योगले बेवास्ता गरेको छ । उद्योग सञ्चालकहरू कोही पनि नेपालीलाई रोजगार दिन तयार छैनन् । प्रदूषण स्थानीयले ब्यहोेर्नु पर्ने तर रोजगारी समेत नदिँदा उद्योग र स्थानीय बिचको द्धन्द थप बढ्दै गएको छ ।
बुढीगंगा गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ३ विराटनगर महानगरपालिकासँग जोडिएको वडा हो । यो वडा पनि उद्योगहरू मध्ये कै सबैभन्दा धेरै रोजगारी दिने उद्योग र राजश्व पनि बढी तिर्ने उद्योग यहीँ छन् । भएका उद्योग मध्येको सबै भन्दा ठुलो उद्योग आरती स्ट्रीप्स नै हो । समस्याको रूपमा रहेको यस उद्योगलाई दीर्घकालीन समस्या समाधानको प्रयास भएको छैन । ध्वनि, धुवाँ, पानीको बाहिरी निकास, पानीको खराबी, आँखा पोलेर सुत्नै नसक्ने समस्या स्थानीयका छन् ।
प्रदूषणले पार्ने असर
उद्योगले ओगटेका क्षेत्रमा कृषि बाली नहुने, उब्जनीमा ह्रास आउनेजस्ता अन्य समस्या पनि देखिएका छन् । यस क्षेत्रमा सबैभन्दा धेरै चुनौतीका रूपमा देखा परेको समस्या भनेको औद्योगिक प्रदूषण नै हो ।
इटहरी–विराटनगर औद्योगिक कोरिडोर सबैभन्दा प्रदूषित कोरिडोरका रूपमा लिने गरिन्छ । करिब ४ सय औद्योगिक प्लान्टबाट निस्किएको फोहोर विना प्रशोधन सडक छेउ र अन्य खाली जमिनमा फालिएका छन् । इटहरी–विराटनगर कोरिडोरमा व्यापक बस्ती विकास भएको छ । यस कोरिडोरमा एकै खाले उद्योगभन्दा पनि जुट, फलाम, साबुन, खाद्यान्न तथा अन्य रासायनिक उद्योग सञ्चालनमा छन् । यसको असर नागरिकमा प्रत्यक्ष पर्दै आएको छ।
उद्योगबाट निस्कने फोहोरले भूमिगत जल प्रदूषण हुने तथा सोबाट विभिन्न खालका पानीजन्य रोग फैलने मात्र होइन, भूमिगत जल सतह, माटोको गुणमा व्यापक परिवर्तन आई कृषि प्रणालीमा परिवर्तन भएको छ। रातभरि आउने कर्कशले स्थानीय सुत्नै सक्दैनन् । सर्वसाधारण यस्तो समस्या हुँदा बेला बेला वडामा घेर्न पुग्छन् । उद्योगले पारेको असरको बारेमा अहिलेसम्म खासै कसैले पहल नगरेको स्थानीय सागर बराल बताउँछन् ।
‘हामी स्थानीयको कुरालाई पालिकाले, वडाले पनि सुन्दैनन्, उनले भने, वडा अध्यक्षहरू नै उद्योगले समस्याको बारेमा कुरा गर्दा नटर्ने गरेको सुनाउँछन् ।’ वडा अध्यक्षको त उद्योगपतिसँग सिधै सम्पर्क भएको देखिँदैन, समस्याको बारेमा छलफल गराउँदा उद्योगपतिहरू टस्कोमस् नै नगरेको उदाहरण स्थानीयसँग छन् ।
बुढीगंगा गाउँपालिका वडा नम्बर ४ की स्थानीय लक्ष्मी घिमिरेले साँझ थापेर राखेको पानीमा बिहान हेर्दा सबै धुलोले भरिएको हुन्छ । घर नजिकैबाट उडेर आउने धुलोको कणहरू बाल्टीमा पर्ने र भएको पानीमा पस्दा त्यो पानी बिहान उठेर हेर्दा फाल्नु पर्नेखालको रहेको बताइन् ।
अन्नबाली उत्पादनमा कमी आउने गरेको किसानहरू बताउँछन् । त्यसैले इटहरी–विराटनगर उद्योगधन्दाको असरको बारेमा सबैले चिन्ता र चासो लिनु पर्ने विषय बन्दै गएको छ। बहु आयामिक पक्ष बोकेको औद्योगिक क्षेत्रको विश्लेषण गरिनु पर्छ ।
नेपाल सरकारको औद्योगिक र वातावरणीय ऐन नियमावली भए पनि यसले मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सक्ने देखिन्न । औद्योगिकीकरण सहरीकरण विकासको उत्तम चरण हो । तर, यसो भन्दैमा औद्योगिकीकरणका कारण विनाशलाई निम्त्याउन दिनु हुँदैन । यसले दिगो विकास र मानव स्वास्थ्यलाई समेत प्रभाव पार्छ । वातावरणमा पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न कुनै पनि बहानामा पन्छाउन मिल्दैन । उद्योग सङ्गठन मोरङले प्रदूषण न्यूनीकरणको विषय पहिलादेखि नै समस्याको रूपमा रहेको बताउँदै आएको छ। उद्योग पहिला आए त्यसैको आधारमा बस्ती बस्दै गएकोले बस्तीको कारण उद्योग बढी प्रदूषित देखिएको बताउने गरिन्छ ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना उद्योगबाट निस्कने पानीलाई कसरी रिसाईकल गर्ने प्रदूषणलाई कसरी भित्रै निर्मलीकरण गरेर बाहिर निकाल्ने भन्ने बारेमा इनर्जी अडिटको साथमा फायर सेप्टी अडिट र गुड मेनुफ्याक्चरिङ प्रोसेस (जिएमटी)मा काम गरिरहेको बताए । उद्योगको रिस्क प्यारामिटरहरुमा उद्योगहरूलाई नै फाइदा पुग्ने गरी काम गरिरहेको उनको भनाई छ। ‘भर्खर यो काम सुरु भएको हो, उनले भने, जिएमटीको लोगो भर्खर सुरु भएको छ, अब गुड मेनुफ्याक्चरिङ प्रक्रियाको बारेमा हामीले काम थाल्दै छौँ ।’ प्रदूषणका विषयहरू पहिला उद्योग आए की बस्ती बन्यो भन्ने प्रश्न जोडिएको उनको भनाई छ। उद्योगहरूमा प्रदूषण रहित त दुनियाँमा कहीँ पनि नहुने गरेको बताउँदै उनले यहाँ चैँ निक्कै समस्याको रूपमा रहेको छ ।
चिम्नीबाट निस्कने प्रदूषण, कपडा, साबुन उद्योगहरूबाट निस्कने पानीले नालीमा हाल्दा त्यसले समस्या सिर्जना गरेको उनको बुझाई छ । धेरै ठुलो लगानी भएको कारण असरमा ख्याल गरेर प्रदूषण न्यूनीकरणको कामहरू पनि भइरहेको दाबी उनको छ। ‘ठुला उद्योगमा समस्या छैन, २ सय देखि ३ सय करोडको लगानी भएकाहरू आफैँले व्यवस्थित गर्दै छन्, उनले भने, साना उद्योगले नियन्त्रण गर्ने बारेमा लगानी गर्न नसक्दा समस्या आएको छ, यी उद्योगलाई लक्षित गरी कार्यक्रम अघि बढाउनु पर्नेछ ।’
वातावरणीय असरमध्ये भूमिगत प्रदूषण सबैभन्दा डरलाग्दा र बहु आयामिक असर मानिन्छ । त्यसैले यसको पक्षलाई समेटेर अध्ययन गर्नु जरुरी छ । वातावरणीय प्रदूषण र यसको असरका कारण हुने हानिलाई बाहिर ल्याउँदैमा या छलफलको विषय बनाइँदैमा उद्योग विरुद्ध लागेको नहुने बुझाई स्थानीयको छ । समस्यालाई समाधान गरेर जाने बारेमा राज्यले नै चासो दिनु पर्ने तर त्यो सहज रूपमा समाधान ननिस्कने स्थानीयको बुझाई छ।
दिगो विकासका लागि वातावरणको विकास र संरक्षणका कुरा उठिरहेका छन् । मानवको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने रोजगारीका लागि उद्योग फस्टाउनुपर्छ । राज्यले संरक्षण गर्नु पर्छ । उद्योगहरू फस्टाउँदै गर्दा नागरिकका समस्यालाई पनि सम्बोधन गरेर जानु पर्छ । वातावरणीय प्रदूषणको विस्तृत अध्ययन र निराकरणले उद्योगहरूको भविष्य निर्धारण हुनेछ । इटहरी–विराटनगर औद्योगिक कोरिडोर विकासले भूमि र हावा प्रदूषण गराएको छ, जसलाई उचित तरीकाले सम्बोधन गरेमा दक्षिणी भागमा रहेको नेपालकै प्रमुख औद्योगिक सहरलाई संरक्षण गर्नेछ । यसले कालान्तरमा विराटनगरलाई भूमि, हावा र जल प्रदूषणबाट मुक्त बनाउने छ । मानव स्वास्थ्यको चुनौतीको सामना गर्न सतह र भूमिगत पानी बचाउने बारेमा खासै काम भएको पाइँदैन । उद्योगबाट निस्कने फोहोरबाट हुने प्रदूषणको असर निराकरणका लागि कदम चाल्नै पर्छ ।
वातावरण विद् रामचन्द्र अधिकारीले सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा भएको प्रदूषण र यसले पारेको असरका विषयमा पछिल्लो समय अध्ययन नै नभएको बताए । ‘वायु प्रदूषणको कामै भएको पाइँदैन, उनले भने, उद्योगबाट निस्किएको पानी खोलामा हाल्दा त्यसले पार्ने प्रभावको बारेमा विद्यार्थीहरूले थेसिसका लागि अध्ययन गरेका छन् ।’ करिब २० वर्ष पहिला डा. भबिन्द्र निरौला उद्योगबाट निस्किएको पानीले बिउ उम्रिनकोलागि कस्तो असर गर्छ भनेर एउटा अध्ययन गरेका थिए । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा निरौलाका अनुसार, पानीजन्य प्रदूषणले उमार शक्तिमा कस्तो असर गर्न भनेर गरेको थिएँ, त्यसमा धान (चैते ४) र कालो मासको उमारशक्तिको बारेमा गरिएको थियो । अहिले लगाइने पानीमा उमार शक्ति नभएको पाइएको छ, पशुपन्छी, जलजन्य तथा जलीय जनावरलाई समेत प्रदूषणले असर गरेको छ । उद्योगी व्यवसायीहरू राज्यको आँखा छल्न खोज्ने भएकोले संवेदनशील नभएको विज्ञहरू बताउँछन् । ‘मानवीय स्वास्थ्यमा असर पारिरहेको छ, उनले भने, खानपान तथा बालीनालीमा मात्र हैन शारीरिक तथा पाचन प्रक्रियामा पनि त्यसले प्रत्यक्ष प्रभाव पारेको छ।’