विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत सहकारीका अध्यक्ष र व्यवस्थापकलाई बोलाएर सहकारीका ऐन, नियम, चुनौती, आइपर्ने समस्या समाधानका उपायलगायतका विषयमा विज्ञहरूबाट जानकारी गराउन सुरु गरेको छ । 
आइतबार सहकारी व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी बदनाम भएको बताए ।  ‘सहकारीको मर्म र भावना विपरीत केही सहकारी सञ्चालन हुँदा समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ,’ उनले भने, ‘अझ राजनैतिक दलका नेताहरूसमेत सहकारी काण्डमा मुछिँदा सहकारीप्रतिको विश्वास गिर्दै गएको छ ।’ 
जनतामा सहकारी प्रतिको विश्वास जागृत गराउनुपर्नेमा उनले जोड दिए ।  गरिबी निवारण र रोजगारी सिर्जनामा समेत सहकारीको योगदान महत्त्वपूर्ण रहेको मेयर कोइरालाले बताए ।  प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो कार्यक्षेत्रभित्र रहेर लगानी गरेमा सहकारी कहिल्यै नडुब्ने बताए । उनले समयमै साधारण सभा गर्ने र तोकिएका ऐन कानुनअनुसार सहकारी सञ्चालन गरिए समस्या नआउने दाबी गरे । पराजुलीले बचतकर्ताहरूबाट सङ्कलित रकम सञ्चालकहरूले घरजग्गा, गाडीलगायतका अचल सम्पत्ति जोड्नतर्फ लागेका कारण सहकारी सङ्कटमा गएको बताए ।
महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन महानगर लागिपरेको बताए ।  कार्यक्रममा जिल्ला सहकारी सङ्घ मोरङका कोषाध्यक्ष अमृत गुरुङ, राष्ट्रिय सहकारी बैङ्क विराटनगर शाखाका प्रबन्धक चिरञ्जीवी तिम्सिना, महानगरको आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेलले सहकारीप्रति समाजमा नकारात्मक भावना पैदा भएकाले त्यसलाई चिर्नु जरुरी रहेको औँल्याए । 
महानगर क्षेत्रभित्र सञ्चालित १७२ वटा सहकारीमध्ये पहिलो चरणमा ५८ वटा सहकारीका अध्यक्ष र व्यवस्थापक गरी ११६ जनालाई कार्यक्रममा सहभागी गराइएको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिइन् । उनीहरूलाई प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेश कार्यालयका रजिस्ट्रार सहकारी विज्ञ हरिबहादुर खत्रीले सहकारीका ऐन, नियम, सञ्चालन गर्दा आइपर्ने समस्यालगायतका विषयमा जानकारी गराए ।