सुनसरी — पाहुना टोली दलसिंहपारा फुटबल एकेडेमी पश्चिम बंगालमाथि ३–२ गोलको संघर्षपूर्ण जित हात पार्दै सहलेश फुटबल क्लब सिरहा सातौं अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा बुधबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा सहलेशका लागि समिर तामाङले २ गोल गर्दा अजय मार्टिनले १ गोल थपेका थिए । दलसिंहपाराका लागि रोहन थापाले दुई गोल गरे पनि हार टार्न भने सकेनन् ।
सहलेशका लागि मार्टिनले चौथो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । समिरले दिएको पासलाई उनले आकर्षक गोलमा परिणत गरेका हुन् । खेलको १४ औं मिनेटमा मार्टिनले उपलब्ध गराएको पासलाई समिरले गोल गर्दै सहलेशलाई २–० को अवस्थामा पुर्याएका थिए । राष्ट्रिय टिमबाट समेत खेल्दै आएका समिरले २६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर सहलेशलाई ३–० को फराकिलो अवस्थामा पुर्याएका थिए ।
पहिलो हाफको अतिरिक्त समयमा भारतीय टिम दलसिंहपाराका रोहनले विपक्षी गोलकिपरलाई बिट गर्दै उत्कृष्ट गोल गरेर अग्रतालाई ३–१ मा छोट्याएका थिए । मध्यान्तरअघि ३–१ गोलको अग्रता बनाएको सलहेशविरुद्ध रोहनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि भारतीय टिमले सम्भावना बलियो बनाएको थियो । ४६ औं मिनेटमा दोस्रो गोल गरेर उत्कृष्ट प्रदर्शन गरे पनि भारतीय टिमले हार टार्न सकेन ।
बुधबारको खेलमा सलहेशका समिर म्यान अफ द म्याच घोषित भए । उनलाई प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य–सचिव कृष्ण बस्नेतले नगद ५ हजारसहित ट्रफी प्रदान गरे ।
क्वाटरफाइनल खेलसँगै सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । सहलेश फुटबल क्लबले शुक्रबार चित्लाङ फुटबल क्लब काठमाडौंसँग दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्यसअघि बिहीबारको पहिलो सेमिफाइनलमा झापा ११ ले बुटवल लुम्बिनी फुटबल क्लब रूपन्देहीसँग प्रतिस्पर्धा गर्नेछ । कार्तिक १० गते हुने फाइनल खेलको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख हात पार्नेछन् ।