सुनसरी । २०८० सालको कवि विमल गुरुङ कृति पुरस्कार निबन्ध ‘शब्दथुम’लाई प्रदान गरिएको छ ।
शनिबार धरानमा विमल गुरुङ स्मृति पुस्तकालयमा कार्यक्रमको आयोजना गरी निबन्ध ‘शब्दथुम’का लेखक तथा कवि प्रकाश थाम्सुहाङलाई पुरस्कार हस्तान्तरण गरिएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडा, वरिष्ठ कवि बम देवान र विमल गुरुङ स्मृति पुस्तकालयका संरक्षक तथा विमलका बुबा पूर्णबहादुर गुरुङले संयुक्त रुपमा नगद दुई लाख रुपैयाँ, ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कृति पुरस्कारका लागि देश तथा विदेशबाट एक सय एक वटा पुस्तक प्राप्त भएका थिए ।
यसैगरी युवा प्रतिभा सम्मानबाट युवा पत्रकार तथा कवि विवेक विवश रेग्मीलाई सम्मानित गरिएको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालयले युवा प्रतिभा सम्मानबाट यस कवि रेग्मीलाई सम्मानित गरिएको हो । उनलाई नगद सहित कार्यक्रममा प्रमुख अतिथि उपकुलपति प्रा. डा. खतिवडाले सम्मान गरेका हुन ।
सोही कार्यक्रममा कवि विमलको कविता संग्रह एक किलो जंगल कृतिको लोकार्पणसमेत गरिएको थियो ।
सोही अवसरमा आयोजना गरिएको ३३ औँ राष्ट्रिय कविता महोत्सवमा नवलपरासीका अन्जान प्रदीप (प्रदीप ढुङ्गाना) प्रथम भएका छन् ।
उनको “सपना” शीर्षकको कविता प्रथम भएको हो । यसैगरी हाल बेलायत बसोवास गर्ने शान्ति लिम्बूको “थेम्स नदिको किनारै किनार” दोस्रो र मोरङकी समीक्षा छिलिङ राईको “फूल र म” कविता तेस्रो भएको छ ।
उनीहरूले क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । कविता महोत्सवका लागि स्वदेश र विदेशका कविहरूबाट प्राप्त भएका ८१ कविताहरूमध्ये १० कविता छनौट गरिएको थियो ।
छनौटमा परेकामध्ये उत्कृष्ट तीन कवितालाई क्रमशः प्रथम, दोश्रो र तेश्रो पुरस्कार प्रदान गरिएको हो ।