विराटनगर- पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलोपटक "इनभिजनिङ अर्ली चाइल्डहुड इकोसिस्टम इन नेपाल" विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
मंसिर २१ र २२ गते विराटनगरमा आयोजना गर्न लागिएको सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने पुर्वान्चल विश्वविध्यालयले जानकारी दिएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा प्रथम पटक आयोजित यो अन्तर्राष्ट्रिय सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने मुख्य उद्देश्य राखिएको छ ।
यस सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरुको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरुले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
साथै यस क्षेत्रमा कार्यरत विभिन्न देशका व्यक्तित्वहरुबाट कि नोट स्पिच तथा विविध प्रकारका कार्यशालाहरु समेत आयोजना गरिने शिक्षाशास्त्र सन्कायका डिन प्रा.डा अनिल कुमार पोखरेलले जानकारी दिएका छन् ।