विराटनगर । मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ की सुनकली (परिवर्तित नाम) लाई हात्तीपाइलेको सङ्क्रमण  भएको बिसौँ वर्ष पुगिसक्यो ।   सङ्क्रमण भएको सुरुका दिनमा त थाहा समेत पाइनन् । धेरै ठाउँमा धाइन् तर यसको बारेमा राम्रो सल्लाह कसैले पनि दिएनन् । स्वास्थ्य संस्थाहरूले पनि यसको उपचारको बारेमा खुट्टा काट्नु पर्ने भन्दै झनै अत्यास लाग्ने कुरा गरे । बिहीबार  सहारा नेपालले पत्रकारलाई स्थलगत निरीक्षण  गराउने क्रममा उनले पत्रकारहरूलाई सुनाएका यी कुराले हात्तीपाइले सङ्क्रमितको अवस्था कस्तो छ भन्ने चित्रण गर्थ्यो ।   उनले आफूलाई भएको समस्या  खुलेरै सुनाइन्  । 
hatti paile (1)
समस्याको बारेमा कहाँ जाने, कसरी त्यसको हेरचाह गर्ने भन्ने नै थाहा नहुँदा निक्कै वर्षसम्म समस्या झेल्दै आएको उनले सुनाइन् ।  अहिले उनी आफ्नो हेरचाह आफैँ गर्छिन् । सन् २०२१ देखि विश्वास परियोजना सञ्चालनमा आएपछि हात्तीपाइले तथा कुष्टरोगीहरूको पहिचान गरी रोकथामका कामहरू सुरु भए । हात्तीपाइले सङ्क्रमित खोजी गर्ने क्रममा उनी पनि फेला परिन् । 
उनलाई अस्पतालसम्म लगियो, उनलाई चेकजाँच गराउने क्रममा चिकित्सकले उनको  शरीरमा रहेको घाउ जटिल अवस्थामा रहेकोले स्वयम् हेरचाह गर्नु पर्ने सुझाव दिए ।  त्यसैको आधारमा उनले आफैँले हेरचाह गर्ने सीप सिक्ने इच्छा व्यक्त गरिन् ।  त्यसैको आधारमा परियोजनाको तर्फबाट  उनलाई स्वहेरचाह  तालिम प्रदान गरिएको  सामाजिक स्वास्थ्य परिचालक पूजा साहले जानकारी दिइन्  । ‘हामीले उहाँलाई अस्पतालसम्म पुर्‍यायौँ, उनले भनिन्, चिकित्सकको सल्लाहको आधारमा सेल्फ केयर तालिम दिएपछि अहिले धेरै  सजिलो भएको छ ।’ स्वयम् हेरचाह गर्न सिकेपछि उनले अहिले हात्तीपाइलेको घाउको सरसफाइ  आफैँ गर्दै आएकी छिन् ।  आफैँले स्वयम् सरसफाइ तथा हेरचाह गर्दा वर्षमा एक/दुई पटक पनि  अस्पतालसम्म जानु नपरेको  सुनकलीले सुनाइन् ।  अहिले स्वास्थ्य परिचालकहरू विभिन्न समयमा  निगरानीमा आउने गरेको पनि उनले बताइन् ।  
hatti paile (3)
रंगेलीमा हात्तीपाइलेको ३८ जना सङ्क्रमित रहेको पालिकाको तथ्याङ्क छ । हात्तीपाइले लक्षण भनेको  स्तन, अण्डकोष सुनिनु पनि भएको रङ्गेली नगरपालिकाका जनस्वास्थ्य अधिकृत भूपेन्द्र मण्डलले जानकारी दिए । स्तन तथा अण्डकोष सुनिने खालका लक्षण भएकाहरू २५० को हाराहारीमा छन्, उनले भने,  खुट्टा सुनिने खालको हात्तीपाइलेको समस्या भएकाहरू ३८ जना छन्  ।’ उनले कुष्टरोगी र हात्तीपाइलेले एकै प्रकृतिको भएकोले अपाङ्ग बनाउने तथा हानी गर्ने सुनाए ।  उनका अनुसार ‘रंगेलीमा कुष्टरोगी १०–१५ वर्ष पहिलादेखिको तथ्याङ्कलाई हेर्दा ६०० जना थियो त्यसको सङ्ख्या घट्दै जाँदा प्रभावितहरू २५० घरसम्म फेला परेको छ । त्यस्ता केसबाट सरेको अवस्था खोज्दा साउनदेखि हालसम्म ४ वटा केसले औषधि खाई रहेका छन्  । यो जनस्वास्थ्यको हिसाबले गम्भीर केस हो ।’  सहारा नेपालले विश्वास परियोजना फेयरमेडको सहयोगमा  झापा र मोरङमा  उपेक्षित तथा उष्णप्रदेशीय रोग, मातृ तथा नवजात शिशु स्याहार  अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सुधारमा काम गर्दै आएको कार्यक्रम संयोजक पवन राईले बताए । परियोजना मोरङको उर्लाबारी, पथरीशनिश्चरे, जहदा, धनपालथान, रङ्गेली, रतुवामाई र सुनवर्सी लगायतका स्थानीय  सञ्चालित छ ।