विराटनगर । शुक्रवार बिहान कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिको बैठक बोलाइएको थियो । शुक्रवार बिहान ९ बजेको लागि भनेर बोलाइएको बैठकको जानकारी बुधवार दिउँसो ३ बजे नै सबै सांसदहरूलाई  खबर भइसकेको थियो । सार्वजनिक लेखा समितिको बैठकमा समितिका सदस्यलाई मात्र बोलाइएन प्रदेश सरकारका मन्त्रालय तथा निकायका सचिवहरूलाई पनि बोलाइएको थियो  । नियमित संसदीय रिपोर्टिङ गर्ने केही पत्रकारलाई पनि  जानकारी गराइएको थियो । बिहान ९ बजे बोलाइएको बैठक झण्डै आधा घण्टा ढिलो गरी सुरु भयो । शुक्रवारको बैठकको मूल एजेन्डा नै  बेरुजुको अवस्था र बेरुजु कम गर्न मन्त्रालयले गर्दै आएका प्रयासहरूमा केन्द्रित हुनेमै थियो । सार्वजनिक लेखा समितिको सभापति राजन किराँतीले समितिको बैठक सुरु गदै गर्दा सभापति सहित किशोरचन्द्र दुलाल, गीतारानी महतो र प्रदीपकुमार सुनुवार थिए ।  विभिन्न मन्त्रालय तथा निकायका एक दर्जन बढी सचिव तथा प्रमुखहरु थिए । 
महालेखा परीक्षकको प्रतिवेदनले कोशी प्रदेशमा औँल्याएका विषयहरूको प्रस्तुत कोलागि महालेखा परीक्षक कार्यालयका निर्देशक शिवप्रसाद आचार्यले प्रस्तुति गर्दै गर्दा समितिका सदस्य लखिकुमारी गणेश थपिइन् ।  चार जनाबाट त्यो सङ्ख्या पाँच जनामा पुग्यो ।
sarbajanik
निर्देशक आचार्यले आफ्नो प्रस्तुतीकरण सकेपछि सभापति किराँतीले छलफललाई अगाडी बढाउँदै गर्दा समितिका सदस्यहरूलाई बोल्ने समय दिइयो । त्यो क्रममा बोल्ने सांसद दुलाले बेरुजुको अवस्थाको बारेमा आफ्नो धारणा राखेका थिए । सभापति किराँतीले अरू माननीय ज्यूहरू कसैको केही छ, भनी ३ पटकसम्म सोधेपछि मात्र प्रदीपकुमार सुनुवारले बेरुजु बढ्नुमा कर्मचारीको समस्याको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । समितिका अन्य सदस्यले केही नै बोलेनन् । 
दुई जना सांसदले आफ्ना राय राखेपछि मन्त्रालयका सचिवहरूलाई बोल्ने समय दिइएको थियो । सचिवहरू मध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयका शङ्कर नेपाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका अशोककुमार साह, खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयका प्रदीप वान्तता तथा कोशी प्रदेश लेखा नियन्त्रक दामोदर  खत्रीले बेरुजु नियन्त्रणका लागि गर्नु पर्ने रणनीतिको बारेमा समितिलाई जानकारी गराएका थिए । लगत्तै प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले  प्रदेशसभाको आफ्ना कुरा सक्दै गर्दा झन्डै ११ बजेर १० मिनेट गएको थियो । समितिको बैठकमा प्रदेशसभा सदस्य तथा समितिका सदस्य भीम पराजुलीको प्रवेश भयो ।sarbajanik lekha samiti 1
सचिव पराजुलीले नै उनको स्वागत गरेका थिए । यहाँसम्म कार्यक्रम सौहार्दपूर्ण रूपमा नै चलेको थियो । 
सवाल जवाफ
जब सभापति किराँतीले ‘माननीय भीम पराजुली ज्यू आई पुग्नु भएको छ, हामीले सक्न सक्न लागेका छौँ, माननीय ज्यूले केही राख्नु हुन्छ की’ भनेर समय दिइएपछि एकाएक माहौल परिवर्तन भयो । पराजुली आक्रामक रूपमा समितिको बैठकमा प्रस्तुत भए । उनले सभापतिलाई पार्टी नेतृत्वसँग बसेर छलफल गरेर मात्र बैठक राख्न आग्रह गरे । ‘पार्टीको १०० दिने कार्यक्रमको सेडियुल पनि रहेको छ, उनले भने, हामी राजनीतिक प्राणी भएकोले सेडियुल मिलाएर मात्र समितिको बैठक गर्न सकिन्छ ।’ उनले फेरी दाहोर्याए, ‘पार्टी नेतृत्वसँग बसेर मात्रै बैठक बोलाउन मैले पहिला पनि भनेको हो, अहिले पनि भनेको छु ।’ सचिव ज्यूले पटक पटक फोन गरेको कारणले मात्र आफू बैठकमा आएको नत्र आउने मुडमा नै नभएको समेत भन्न भ्याए ।   बेरुजुको विषयमा बेजोड छलफल भइरहेको बेलामा  एकाएक पराजुलीको यो अभिव्यक्तिले छलफलमा बसेका सचिवहरू मुखामुख गर्दै थिए ।  जवाफमा सभापति किराँतीले भने, ‘सार्वजनिक लेखा समितिमा चार दलको प्रतिनिधित्व छ, सबैलाई कोर्डिनेशन गर्न दलका सिनियर एक जना नेतालाई जिम्मेवारी दिइएको छ, समितिका सचिव ज्यूले पनि समन्वय गर्नु भएको हुन्छ । पहिला ११ जना थियौँ, एक जना मन्त्री हुनु भयो, हामी १० जना भएका छौँ, समन्वय भई नै रहेको छ , यसमा कुनै अप्ठेरो मान्नु पर्दैन ।’  यतिकैमा मन्त्रालयहरूलाई निर्देशन दिँदै बैठक स्थगित भएको थियो ।
बैठक पछि पत्रकारलाई प्रतिक्रिया दिँदै किराँतीले बैठकमा सांसदहरू आउनै नचाहने आउँदा पनि ढिलो गरी आउने गरेको प्रतिक्रिया दिए । प्रदेश सभामा कार्य ब्यवस्था तथा परामर्श समिति भएजस्तै समितिमा पनि दलको सिनियर सदस्यसँग समन्वय गर्ने गरिएको उनको भनाई छ। ‘दलका सिनियर नेतासँग सल्लाह गरेर बैठक राख्ने गरिएको छ, उनले भने, कुन सांसदलाई कुन दिन पायक पर्छ भनेर बैठक बस्ने हैन, हामी मिनी सांसद भएकोले हाम्रो आफ्नै मर्यादा छ ।’ 
व्यक्तिगत र आन्तरिक काममा
कोशी प्रदेश सभा सार्वजनिक लेखा समिति ११ सदस्य छ । जसमा रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि १० सदस्यमा अहिले समितिको बैठक बस्ने गरेको छ। अहिले समितिमा सभापति किराँती सहित किशोरचन्द्र दुलाल, गीतादेवी महतो, प्रदीपकुमार सुनुवार, लखिकुमारी गणेश, भीम पराजुली, इन्दिरा थापा, दुर्गाप्रसाद चापागाईँ, छविलाल चुँडाल र सविना बजगाईँ छन्  ।  शुक्रवारको बैठक हुँदै गर्दा सविना बजगाईँ झापामा नै कार्यक्रम भएको कारण समितिको बैठकमा आउन नपाएको बताइन । उनी सहकारीको साधारण सभा भएको कारण आउन नभ्याएको सुनाउँछिन्  । अर्का सांसद  दुर्गाप्रसाद चापागाईँ सम्पर्कमै थिएनन् । उनको बारेमा जानकारी लिन खोज्दा उनको मोवाईन स्विच अफ थियो ।  सांसद छविलाल चुँडालले काठमाडौँमा थिए । उनी व्यक्तिगत कामको सिलसिलामा काठमाडौँमा रहेको बताउँछन्  । ‘को कहाँ पुगेको हुन्छ, बैठक छ भनेर यसो म्यासेज गरेर हुन्छ, उनले भने, हामी नहुँदा पनि बैठक भइहाल्छ नि ।’ अर्का सदस्य इन्दिरा थापा काठमाडौँमा कामको सिलसिलामा व्यस्त भएको बताइन्  । म काठमाडौँमा व्यस्त छु, उनले भनिन्, म अहिले किताब निकाल्ने तयारीमा लागेको छु ।’

कोशी प्रदेश सभाको बैठक लामो समयदेखि बस्न नसक्दा यी नै समितिहरूले सरकारलाई जबाफदेही बनाउने र सरकारको काम कारबाहीको बारेमा खबरदारी गर्ने गर्छन् । यस्ता समितिहरू पनि सांसदहरूले नै असहयोग गर्दा निश्प्रभावी हुँदै आएका छन्  ।  समितिको बैठकमा नियमित सांसदहरू नआउने, आइहाले पनि आफू अनुकूल बैठक राखिदिनु पर्ने भन्दै  माग गर्ने गरेको संसद् सचिवालय स्रोतले जनाएको छ।  समितिको बैठकमा आउने सदस्यहरूले बैठक भत्ता बापत एक हजार पाउने कार्यविधि छ ।