विराटनगर । कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरकमण भण्डारीले नेपाली काँग्रेस संसदीय दलका नेता एवम्  पूर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणमा संलग्न दोषीलाई पक्राउ गर्ने काम भएको बताएका छन् ।  घटना पछि तत्काल प्रदेश सरकारले त्यस बारेमा जानकारी लिँदै  घटनामा संलग्न भई गैर कानुनी गतिविधिमा संलग्नलाई कारबाही गर्ने बारमा मुख्यमन्त्रीबाट सम्बन्धित निकायलाई निर्देशन जारी भइसकेको बताए ।

दोस्रो कोसी प्रदेश सभाको छैटौँ अधिवेशनको पहिलो बैठकमा सरकारको तर्फबाट धारणा राख्दै पूर्व मुख्यमन्त्री माथि भएको घटनाको विषयमा सुरक्षा निकायलाई निर्देशन दिँदै दोषीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिई सकेको बताएका हुन् । ‘कनकाई नगरपालिका क्षेत्रमा सानो तर अराजकतापूर्ण घटना घटेकोमा सरकारले दुख व्यक्त गरेको छ, उनले भने, सरकारले आफ्नो आफ्नो अधिकार क्षेत्रमा  रहेर  संघीय सरकारका निकायसँग समन्वय गरेर त्यस्ता विषयमा अनुसन्धान र छानबिन भइरहेको छ।’ 

कोसी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सामान्य नै रहेको बताएका छन् । ‘लागु औषध  र सवारी दुर्घटनाको विषय चुनौतीपूर्ण रहेको छ, उनले भने, हामी त्यसलाई न्यूनीकरणको लागि लागिपरेका छौँ, कोसी प्रदेश सरकारसँग सीमित अधिकार मात्रै रहेकोले पनि केही अप्ठेराहरू छन् ।’