इटहरी । जनता माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने विद्यालयले जानकारी दिएको छ ।
विद्यालयको ६८ औँ स्थापना दिवस एवम् अभिभावक भेलाको अवसर पारेर माघ १५ गते विद्यालय भवनको उद्घाटन गरिने विद्यालयले आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी जानकारी दिएको हो ।
विद्यालय सुधारका लागि अभिभावहरूसँग वृहत् भेला गरी सुझाव लिने छलफल गरिने, भर्ना अभियान सञ्चालन गर्ने, नयाँ विद्यार्थी भर्नाको फारम वितरण लगायतका कार्यक्रम गरिने जनता मा.विले जनाएको छ ।
स्थापना दिवस तथा अभिभावक भेलाको अवसरमा नमुना विद्यालय अन्तर्गत निर्माण भएका नयाँ भवनको उद्घाटन गरिने, अभिभावकसँग शैक्षिक सुधारका लागि सुझाव लिने कार्यक्रम राखिएको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए ।
नेपाल सरकारको विद्यालय भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत नमुना विद्यालय कार्यक्रममा जनता मा.वि छनौटमा परेको थियो । ५ बर्षे कार्यक्रम अन्तर्गत सरकारले विद्यालयलाई ६ करोड ६७ लाख ५० हजारको बजेट उपलब्ध गराएको प्रधानाध्यापक सिग्देलले जानकारी दिए । सो बजेटबाट विद्यालयले ३ वटा शैक्षिक भवन, विज्ञान भवन लगायतका पूर्वाधार निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।
विद्यालय सुधार परियोजना अनुसार विद्यालयले ३९ करोडको परियोजना निर्माण गरी प्रस्ताव पेस गरेको थियो । जस अनुसार ६ करोड ६७ लाख ५० मात्र बजेट प्राप्त भएको अध्यक्ष दंगालको भनाई छ । नमुना विद्यालय कार्यक्रमलाई सफल बनाउन अभिभावकको महत्त्वपूर्ण सहयोग रहेको अध्यक्ष दंगालले बताए ।
परियोजना अनुसार अन्य केही पूर्वाधार निर्माणको काम बाँकी नै छ । तर नेपाल सरकारको परियोजना भने २०७९ मै सकिएको छ । बाँकी रहेका छुटपुट काम सक्न भनेर चालु वर्षमा २० लाख मात्र प्राप्त भएको प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए ।
नमुना विद्यालय कार्यक्रम सुरु भएयता विद्यालयको शैक्षिक गुणस्तरमा पनि सुधार आएको छ । अंग्रेजी माध्यमबाट पढाई सुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि भएको विद्यालयले जनाएको छ । विद्यालयमा हाल ३ हजार २ सय २० विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयले जानकारी दिएको छ ।