विराटनगर । सुनसरीको कोसी गाउँपालिका ६ स्थित एक कृषि फार्ममा बर्डफ्लु भेटिएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले फार्ममा बर्डफ्लु भेटिएको पुष्टि गरेको हो । 

बर्डफ्लु भेटिएको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयमा अहिले आकस्मिक बैठक बसिरहेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार मन्त्रालयबाट बर्डफ्लु पुष्टि भएको पत्र प्राप्त भएपछि नियन्त्रणका लागि सरोकारवालसँग बैठक चलिरहेको जानकारी दिए । 

कृषि मन्त्रालयले फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेर पत्र पठाएको छ । 

तत्काल फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्ने तयारी भइरहेको सुनसरी प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
बैठक लगत्तै जिल्ला प्रशासन, स्वास्थ्यकर्मी, सुरक्षा निकाय र पालिकाका जनप्रतिनिधि सहितको टोली स्थलगत अनुगमनमा जान तयारी भइरहेको पनि उनले बताए । 
तत्कालको अवस्थामा फर्ममा भएका कुखुरा नष्ट गर्ने, अन्य ठाउँमा फैलन नदिन सुरक्षाका उपाय प्रयोग गर्ने र सीमा नाकामा कडाइ गर्दै चेकजाँच सुरु गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।