इलाम । अस्पतालहरुले स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताएका छन् ।

चिकित्सकले लेखेको औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको मन्त्री पौडेलले बताए ।

आइतबार इलाम अस्पतालको अनुगमन गर्दै स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् । 

मन्त्री पौडेलले भने,“अब पनि औषधि छैन भन्नु गैरकानुनी हो ।”

स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको बताउँदै मन्त्री पौडेलले  तोकिएका औषधि अनिवार्य राख्न आग्रह गरे । 

बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनको भनाइ छ । जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउने समेत उनले बताए  । 

अनुगमनका क्रममा इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गरे । स्वास्थ्यमन्त्री पौडेलले सुगममा चिकित्सक बस्न रुचाउने गरेको बताउँदै अब सरकारले जहाँ खटाएको छ, सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गरिने पनि बताए । 

अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उनले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताए ।।