विराटनगर । राष्ट्रिय युवा सङ्घ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि गए राति साङ्घातिक आक्रमण भएको छ । तीनै जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । गए राती १ बजेको समयमा एक समूहले बोलाएर आक्रमण गरेको खुल्न आएको प्रहरीले जनाएको छ । अक्रममा इन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य २ जना विश्वदिप राजवंशी र अजय खवास सामान्य उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए । आङ्देम्बेमाथि धारिलो हतियार प्रहार हुँदा अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरीरका विभिन्न भागमा सामान्य चोट लागेको उनले बताए ।
घाइते खवासका अनुसार आङ्देम्बेको हत्या गर्ने योजनाले नै खुकुरी प्रहार भएको अर्का घाइते खवासले बताए । ‘आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरेँ, खवासले भने‘ मेरो हातको ४ वटा औँला काटिएको छ । यो आक्रमण योजनाबद्ध हो ।’
अर्का घाइते, राजवंशीका अनुसार, भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका ४ जनाको समूहले आक्रमण गरेका हुन् ।’ घटनाको विषयमा जानकारी भएपश्चात् संलग्नहरूको खोजी भइरहेको डिएसपी खड्काले जानकारी दिए । आक्रमण कसले गरेको हो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन ।