विराटनगर । नेपाल शिक्षक महासङ्घको आह्वानमा सञ्चालन भइरहेको नेपाली शिक्षकहरूको आन्दोलन यही चैत २० गतेसम्म आइपुग्दा काठमाडौँको सडकमा अनिश्चितकालीन रूपमा आइपुगेको छ। यो शिक्षक आन्दोलन पेशागत रूपमा शिक्षकहरूका लागि मात्र जस्तो देखिएता पनि शिक्षकहरूको हकमा मात्र सीमित छैन। शिक्षकहरूको आन्दोलन पेशागत हकहित ,सेवा सुविधा र शर्तमा रहनु स्वाभाविकै हो। यो मागका अतिरिक्त शिक्षकहरूको प्रमुख माग भनेको २०२८ सालमा जारी भएको शिक्षा ऐनलाई प्रतिस्थापन गरी नयाँ शिक्षा ऐन जारी गर्नका लागि पनि हो। जबसम्म नयाँ शिक्षा ऐन जारी हुँदैन। तबसम्म अभिभावकको रुचि चाहना र विद्यार्थीको क्षमताका आधारमा सिकाइका आधारहरू तयार हुन सक्दैनन्। विश्व ग्लोबलाइजेसन भइसकेको छ। सूचना र सञ्चारले आजको समाजलाई फरक आवश्यकता र परिस्थितिमा पुर्याएको छ। हिजोको आवश्यकता र आजको आवश्यकता फरक छन् त्यसैले आजको आवश्यकताका आधारमा जबसम्म शिक्षालाई डोर्याउन सकिँदैन तबसम्म नेपाली समाजलाई अगाडि बढाउन पनि सकिँदैन।
पाठ्यपुस्तक समेत प्राप्त गर्न नसक्ने अवस्थाको शिक्षा ऐनलाई टेकेर आज एआइको जमानामा हामी काम गरिरहेका छौँ जसले गर्दा हाम्रा बालबालिकाहरूले पाउनुपर्ने शिक्षा प्राप्त गर्न सकेका छैनन्। बालबालिकाको क्षमता अनुसार उनीहरूलाई सिकाइका अवसरहरू प्रदान गरिनुपर्दछ। सोही अनुसारको पाठ्यक्रम निर्माण हुनुपर्दछ। कक्षा कोठाहरूका सिकाई त्यसै अनुरूपका हुनुपर्छ जसका लागि विद्यालयको व्यवस्थापकीय पाटोलाई सक्षम बनाउनुपर्छ ।लगानीका अवसरहरू सिर्जना गरिनुपर्दछ। परम्परागत कक्षाकोठा ,परम्परागत सिकाई पद्धति, परम्परागत सोच जस्ता कारणबाट शिक्षालाई माथि उठाउन सकिँदैन। यसका लागि नयाँ शिक्षा ऐन जरुरी छ।
जुन ऐनमा यस्ता धेरै मुद्दाहरू समावेश हुनुपर्दछ र हालै संसदमा छलफलमा रहेको शिक्षा ऐनमा यस्ता कयौँ कुराहरू समाविष्ट भएर जारी हुनुपर्नेमा विभिन्न बहानामा ऐनलाई ओझेल पार्ने कार्य भइरहेको छ। एक अर्कामा दोषारोपण गरी
राजनीति
भित्र
शिक्षा
रुमल्लिएको छ। जबसम्म शिक्षा सुधार अभियानका रूपमा आउँदैन तबसम्म दसौँ वर्षपछिको देशको भविष्य अनिश्चित हुन्छ। भावी पुस्ताले अहिलेको पुस्तालाई सराप्ने दिन नआओस् भन्नका लागि अहिले नै हामीले भविष्यको पुस्तालाई लक्षित गरी शिक्षा प्रणालीलाई सुधार गर्नु पर्दछ। जबसम्म यो सोचका साथ हामी शिक्षालाई अगाडि बढाउन सक्दैनौ तबसम्म हाम्रा कैयौँ प्रयासहरू बालुवामा पानी खनाए जस्तो मात्र हुन जान्छ। त्यसैले हामी शिक्षकहरूले देशको
भविष्यलाई सुन्दर बनाउने सपना बोकेर अहिलेको शिक्षालाई हाक्नका लागि यो आन्दोलन गरिरहेका छौँ । यो आन्दोलन मात्र शिक्षकहरूका लागि होइन। यो आन्दोलन विद्यार्थी र विद्यार्थीका अभिभावकहरूका लागि पनि हो।
जबसम्म अभिभावक, विद्यार्थी र शिक्षकको सहकार्य हुँदैन तबसम्म शिक्षा प्रणाली सुध्रन सक्दैन। शिक्षक भनेको अभिभावकको भविष्य सुन्दर बनाउने उहाँहरूकै सन्ततिको मार्गदर्शक हो। जब शिक्षक राम्रो हुन्छ तब मात्र विद्यार्थी राम्रो हुन्छ। जब विद्यार्थी राम्रो हुन्छ तब घरपरिवार राम्रो हुन्छ। घरपरिवार राम्रो भयो भने समाज राम्रो हुन्छ। जब समाज राम्रो हुन्छ तब मात्रै देश सुन्दर हुन्छ। त्यसैले यो शिक्षक आन्दोलनलाई शिक्षकको मात्र हो भन्ने कुरा तमाम विद्यार्थी र अभिभावकले बुझ्नु हुँदैन । यसले शिक्षामा सधैँ हुने गरेको अन्यौलताको अन्त्य हुन जान्छ।
२०२८ पछाडि नेपालमा तीन वटा संविधान जारी भए देशले विभिन्न कालखण्डहरू पार गर्यो राजनैतिक परिवर्तनहरू भए सत्ता परिवर्तन भए, विभिन्न क्षेत्रमा विभिन्न परिवर्तनहरू महसुस गरियो तर नेपालको शिक्षा क्षेत्रमा सरकारले दिनुपर्ने एउटा शिक्षा ऐन दिन सकेन ।
त्यसैले आज हामी एउटा शिक्षा ऐन जारी गर्नका लागि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेका छौँ । हामी सडकमा उत्रँदै गर्दा विद्यालय, विद्यार्थी र अभिभावकलाई पर्न गएको दुःखप्रति हामी क्षमाप्रार्थी पनि छौँ।
पक्कै पनि शिक्षकका मागहरू शिक्षकका मात्रै होइनन् यी मागहरू अभिभावक र विद्यार्थी भाइबहिनीहरूसँग जोडिएका छन् त्यसैले सरकारलाई शिक्षा ऐन जारी गर्न बाध्य बनाऊँ। सरकारलाई पनि हामी अनुरोध गर्न चाहन्छौँ अहिले शिक्षकहरू सडकमा छन् यसलाई खेलाँची गरेर सरकारले बेवास्ता गरेमा हाम्रा अभिभावक र हाम्रा कक्षा कोठामा रहेका हाम्रा विद्यार्थी भाइबहिनीलाई समेत हामीले सडकमा लिएर आउने दिन नआओस् बेलैमा हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ।
(सन्तोष पोखरेल, प्रधानाध्यापक,आदर्श माध्यमिक विद्यालय विराटनगर)