विराटनगर । वक्तृत्वकला प्रतियोगितामा आदर्श माध्यमिक विद्यालयकी मुस्कान पन्त प्रथम हुनुभएको छ भने प्रस्तुतीकरणमा इटहरी नमुना कलेजका प्रतीक कट्टेल, मन्जिला सुवेदी र आयशा पराजुलीको समूह प्रथम भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस सामाजिक कार्य विभागले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूबिच “लागूपदार्थ दुर्व्यसन न्यूनीकरणमा युवाहरूको भूमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता र सामाजिक कार्य विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबिच विभिन्न विषयमा प्रस्तुतीकरण प्रतियोगिताको सोमवार विराटनगरमा आयोजना गरेको हो । वक्तृत्वकलामा सत्यनारायण माध्यमिक विद्यालयका युमिसा गौतम द्वितीय र शिवानी राउत तृतीय भएका छन् ।
सान्त्वना पुरस्कार एभरेस्ट बोर्डिङ स्कुलका इशल भट्टराईले जितेका छन् । त्यसै गरी प्रस्तुतीकरणमा जनता आदर्श बहुमुखी क्याम्पसका प्रजल कार्की र सुनैना खड्काको समूह द्वितीय भएको छ । यो समूहले “विद्यालयमा विद्यार्थीहरूमा पर्ने मनोसामाजिक समस्या न्यूनीकरण गर्न स्कुल सोसल वर्कको आवश्यकता” विषयमा प्रस्तुतीकरण गरेको थियो ।
पथरी बहुमुखी क्याम्पसका आशा राई, प्रतीक भट्टराई र गोमा धमलाको समूह तृतीय भएको छ । यो समूहले “सामाजिक तथा संरचनात्मक लैङ्गिक विभेदमा सामाजिक कार्यको भूमिका” विषयमा प्रस्तुतीकरण गरेको थियो । प्रथम हुने इटहरी नमुना कलेजको समूहले “सामाजिक कार्यलाई व्यवसायीकरण गर्न प्रयोगात्मक सीपको महत्त्व” विषयमा प्रस्तुतीकरण गरेको थियो ।
प्रस्तुतीकरण प्रतियोगितामा जनता आदर्श बहुमुखी क्याम्पस विराटनगर, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर, इटहरी नमुना कलेज इटहरी, धरान मोडेल कलेज धरान, पथरी बहुमुखी क्याम्पस पथरी, उर्लाबारी बहुमुखी क्याम्पसका विद्यार्थीहरू सहभागी भएका थिए । प्रस्तुतीकरणमा तीन जनासम्मको समूहले भाग लिएका थिए भने एउटा क्याम्पसबाट दुई वटा समूहले भाग लिन पाउने व्यवस्था थियो ।
यस्तै वक्तृत्वकला प्रतियोगितामा एभरेस्ट माध्यमिक विद्यालय विराटनगर, अर्किड माध्यमिक विद्यालय विराटनगर, आदर्श माध्यमिक विद्यालय विराटनगर, सत्यनारायण माध्यमिक विद्यालय विराटनगर, अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगर र कान्तिपुर माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
एउटा विद्यालयबाट दुई जना विद्यार्थीहरू सहभागी भएका थिए । विजयी विद्यार्थीहरूलाई क्याम्पस प्रमुख महेशप्रसाद निरौला, पूर्व क्याम्पस प्रमुख डाक्टर रमेश बाबु काफ्ले, पूर्व डीन डाक्टर कृष्णप्रसाद पाण्डे र सह–डीन दीप्ति सुब्बाले प्रमाणपत्र एवम् पुरस्कार वितरण गर्नुभएको थियो ।