विराटनगर । नेपालको जडीबुटी प्रयोग गरी  किड्नी तथा सुगर रोगको उपचार गर्नको लागि मनमोहन प्राविधिक विश्वविद्यालयले अनुसन्धान थालेको छ । भारतीय वैज्ञानिकहरूको सहयोग लिएर विश्वविद्यालयका लेक्चररहरू सम्मिलित टोलीले यसको बारेमा अध्ययन थालेको हो । 

नेपाली हिमालयन जडीबुटीको प्रयोग गरेर किड्नी र सुगरको उपचार हुन सक्ने तथ्यलाई स्थापित गर्न अध्ययन  थालिएको हो । नेपालकै पहिलो प्राविधिक विश्वविद्यालयले अध्ययन र अनुसन्धानलाई तीव्रता दिएको छ । कुन कुन जडीबुटीले कस्तो खालको काम गर्छ, किड्नी र सुगर सम्बन्धी समस्या समाधान गर्ने औषधीय गुण भएका जडीबुटी कुन कुन क्षेत्रमा पाइन्छ र त्यसको उपयोगिता के छ, भन्ने बारेमा वैज्ञानिक सहितको टोलीले अध्ययन थालेको विश्वविद्यालयका उपकुलपति डा। सुवासश्री पोखरेलले जानकारी दिए ।  भारतीय बैज्ञनिक डा। सुनिल शुक्लको नेतृत्वमा अहिले वैज्ञानिकहरूले अनुसन्धान थालिसकेका छन्  ।  टोलीको सदस्यमा फर्मासिस्टहरु साईबिजय रिजाल, अतुल अधिकारी र रवीन्द्र खड्का तथा माईक्रोबायोलोजीबाट डा दीपेन्द्र श्रेष्ठ र जडीबुटीको बारेका जानकार धिरेन्द्रबहादुर बस्नेत अनुसन्धान टोलीमा छन् । २०८१ फागुन २२ गतेको विश्वविद्यालयको निर्णयले नेपालको जडीबुटीबाट किड्नी र सुगरको उपचार गर्नको लागि आवश्यक अध्ययनको लागि विज्ञ बनाएको थियो । त्यसैको आधारमा भारतीय वैज्ञानिक डा शुक्ललाई अध्ययन र अनुसन्धान गर्नको लागि जिम्मेवारी दिइएको हो । उनी पतञ्जलि रिसर्च इन्स्टिच्युट हरिद्वार भारतमा काम गरेका वैज्ञानिक हुन् ।

यो टोली हिमाल, पहाड र तराईका क्षेत्रमा गएर  त्यहाँको परम्परागत जडीबुटीहरू सङ्कलन गर्ने, स्थानीहरूसँग त्यसको उपयोगिताको बारेमा सोधिखोजी गर्ने जनाइएको छ । ‘गाउँघरमा प्रयोग भइरहेका त्यस्ता जडीबुटीलाई सङ्कलन गरेर विज्ञ समूहले ल्याबमा पठाउने छ, डा पोखरेलले भने,  बायो केमिकल गुण भएका त्यस्ता जडीबुटीको अध्ययन पछि मुसा र खरायोमा परीक्षण गरिने तयारी छ ।’ कोसी प्रदेशलाई जडीबुटी खानी मानिन्छ । त्यसबाट प्रदेशले धेरै फाइदा लिन सक्ने भए पनि त्यसको खोज, अनुसन्धान र प्रयोगलाई प्राथमिकतामा राखेर विश्वविद्यालयले  प्रदेशको आर्थिक विकासमा समेत  टेवा पुर्‍याउने गरी अध्ययन थालिएको उपकुलपति डा। पोखरेल बताउँछन्  । 

वन तथा भूसंरक्षण मन्त्रालय अन्तरगत वनस्पति विभागले २०६३ सालमा गरेको एक अध्ययन अनुसार ३० प्रकारका बनस्पतिहरुलाई नेपालको आर्थिक विकासकालागि प्राथमिकता प्राप्त जडीबुटीको सूचिमा राखेको छ । जसमा अतिस, अमला, ओखर, कुटकी, गुच्ची च्याउ, गुर्जो, चिराइतो, जङ्गली सयपत्री, जटामसी, झ्याउ, टिमुर, तेज पात, धसिंगरे, नीम, पदमचाल, पाषणभेद, पाँच औले, पिपला, विष, बोझो, भ्याकुर, मजिठो, यार्सागुम्बा, रिट्ठा, लघुपत्र, लौँठसल्ला, सुगन्धकोकिला, सुगन्धवाल, सतावरी (कुरिलो) र सर्पपन्धा हुन्  । यी जडीबुटीमा औषधीय गुण रहेको विज्ञहरू बताउँछन्  ।