सुनसरी । दोस्रो संस्करणको मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिको लागि विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिका बिच प्रतिस्पर्धा हुने भएको छ । इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा शनिवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा विराटनगरले दमक नगरपालिकालाई ८ विकेटले पराजित गर्दै इटहरीसँगको उपाधि भिडन्त पक्का गरेको हो । इटहरीले यसअघिनै इलामको माई नगरपालिका माथि शुक्रवार ४२ रनको जीत निकाल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
  
दमकले प्रस्तुत गरेको ९० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १० दशमलव ५ बलमा २ विकेट गुमाउँदै सहजै पुरा गर्‍यो । बिरानगरका लागि मिनस थापाले नट आउट ३८ र चिराग शाहले २० रन बनाएर टिमलाई जिताए । त्यसअघि सकिब हकले १० रन बनाउँदा विराटनगरले अतिरिक्त १४ रन उपहार पाएको थियो । दमकको लागि दुवै विकेट छविलाल खड्काले लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दमकले निर्धारित २० ओभरमा १८ दशमलव ३ बल खेल्दै ८९ रन मात्र बनाउन सकेको थियो । दमकको इनिङमा हिमांशु गिरीले २४, सुगम बुढाथोकीले २१ र अविनाश सिंहले १० रन मात्र बनाउन सके । विराटनगरका अमर यादवले ४ विकेट लिँदा कृतिक कामतले २ विकेट हात पारे । खेलको म्यानअफद म्याच विराटनगरका अमर यादव घोषित भए । उनलाई नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुबेदीले नगद १ हजार ५ सय रुपैयाँ र टफी प्रदान गरे ।

विराटनगर र इटहरीबिचको उपाधि भिडन्त आइतबार हुनेछ । कोसी प्रदेशका १८ पालिका सहभागी प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार पाउने आयोजक सेभेनस्टार क्लबले जनाएको छ ।