विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारमा बसेका मन्त्रीहरूले चाहिने नचाहिने काम गर्दिनाले अनावश्यक हप्कीदप्की खाँदै हिँड्नु परेको बताएका छन् । 

धनकुटामा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारमा बसेका मन्त्रीहरूले गर्नुपर्ने काम नगरेर, चाहिने नचाहिने निर्णय गर्दा अनावश्यक रूपमा जवाफ दिँदै हिँड्नु परेको बताएका हुन । 

सरकारले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने अनावश्यक निर्णय गरेका कारण आफूले अनावश्यक हप्कीदप्की खाँदै हिँड्नु परेको महामन्त्री थापाले बताए । 

नेपाली काँग्रेसबाट सरकारमा सहभागी भएका ऊर्जा मन्त्री दीपक खड्काले कुलमान घिसिङलाई हटाउने प्रस्ताव मन्त्रीपरिषदमा लगेपछि सरकारले हटाउने निर्णय गरेको थियो । सो विषयलाई लक्षित गर्दै महामन्त्री थापाले मन्त्री खड्काको निर्णयको आलोचना गरेका हुन । 

‘ एउटा कर्मचारीको बारेमा, जुन निर्णय गर्नै पर्दैनथ्यो, त्यो अनावश्यक निर्णय गरेको कारणले अहिले साथीहरूले उत्तर दिँदै हिँड्नुपरेको छ । ’ महामन्त्री थापाले भने,  ‘अनावश्यक रूपमा पार्टीका साथीहरूले सामाजिक सञ्जालमा, टोल–टोलमा हप्कीदप्की खानुपरेको छ । त्यसैले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई हामी भनिरहेका छौँ, गर्नुपर्ने काम गर, नगर्नुपर्ने काम नगर ।’

महामन्त्री थापाले २०८४ को निर्वाचन अगाडि नै संविधान संशोधन गर्नुपर्ने बताए ।  संविधान संशोधन गरेर मात्र ०८४ को निर्वाचनमा जानु पर्ने थापाको भनाई थियो । 
अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेको भन्दै उनले तिनलाई संशोधन गरेर मात्र निर्वाचनमा जानु पर्ने धारणा राखे ।