विराटनगर । पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ बजारमा आएको छ । पत्रकार झापालीको कथा संग्रह ‘हिजाब’लाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले काठमाण्डौँमा सार्वजनिक गरेका छन्  । 

भुँडीपुराण प्रकाशन मार्फत प्रकाशित कथा संग्रहमा २१ ओटा कथा संग्रहीत छन् । नेपाली समाज भित्रका विषय वस्तुहरुलाई समेटेर यथार्थपर कथाहरु समेटिएको छ । 

केहि कथा भने स्वैरकल्पनाका आधारमा लेखिएको कथाकार झापालीले बताएका छन् । विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथाहरु समेटेर पहिलो पटक संग्रह सार्वजनिक गरिएको उनले बताए । 

पत्रकार झापाली झण्डै अढाई दशक देखि विभिन्न छापा तथा विद्युतीय माध्यममा काम गर्दै  आएका छन् ।