सुनसरी ।इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसले विद्यार्थीहरूलाई मोबाइल एप निर्माण सम्बन्धी कार्यशाला आयोजना गरेको छ । क्याम्पसमा अध्ययनरत विआईसिटिइ (BICTE) सङ्काय अन्तर्गतका विद्यार्थीहरूलाई लक्षित गरी फ्ल्युटर(Flutter) कार्यशाला आयोजना गरिएको हो ।
विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको क्याम्पसले जनाएको छ । गत ज्येष्ठ १८ गते देखी सुरु भएको कार्यशाला ७ दिन सम्म सञ्चालन हुनेछ । कार्यशालामा ३० जना विद्यार्थीहरूले मोबाइल एप निर्माण सम्बन्धी ज्ञान लिइरहेका छन् ।
फ्ल्युटर(Flutter) गुगलद्वारा विकसित एउटा खुला स्रोत मोबाइल एप विकास फ्रेम वर्क हो । यसको प्रयोगबाट एउटै कोड प्रयोग गरेर Android र iOS दुवैका लागि एप बनाउने सुविधा उपलब्ध हुन्छ ।
कार्यशालामा विद्यार्थीहरूलाई फ्ल्युटर(Flutter) को आधारभूत संरचना, Dart प्रोग्रामिङ भाषा, युआई(UI) डिजाइन, एप (deployment) लगायतका विविध पक्षमा सैद्धान्तिक र व्यवहारिक सिप सिकाइने जनता बहुमुखी क्याम्पसका विआईसिटिइ (BICTE) विभाग प्रमुख मन्दिप भट्टराईले जानकारी दिए । कार्यशालामा प्राध्यापक निरोज पौडेलले प्रशिक्षण दिने उनले बताए ।
जनता बहुमुखी क्याम्पसले पछिल्लो तीन वर्ष देखी सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित विआईसिटिइ(BICTE Bachelor in Information Communication Technology Education) कार्यक्रम सञ्चालन गरिरहेको छ ।
क्याम्पसले अत्याधुनिक प्रविधिमा आधारित कार्यशालामार्फत विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरको सीप सिकाउने र उनीहरूलाई व्यवहारिक रूपमा प्रतिस्पर्धात्मक बनाउने लक्ष्य लिएको विभाग प्रमुख भट्टराई को भनाई छ । विआईसिटिइ (BICTE) विभाग प्रमुख भट्टराईका अनुसार, यस्ता कार्यशालाले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभएर भविष्य निर्माणका लागि आवश्यक व्यावसायिक दक्षता पनि प्रदान गर्छ ।
आगामी दिनमा AI र Machine Learning केन्द्रित थप कार्यशालाहरूको आयोजना गर्ने योजना रहेको उनले सुनाए ।
यता,क्याम्पस प्रमुख डा. गीता अधिकारीले कार्यशाला विद्यार्थीहरूलाई आफ्नै एप बनाउने क्षमता विकास गर्दै भविष्य उज्यालो बनाउने दिशामा महत्त्वपूर्ण कदम हुने बताइन् ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीले भविष्यमा पनि यस्ता व्यवहारिक सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने बताए । अध्यक्ष केसीले अन्य निजी कलेजहरूमा महँगोमा पढाइ हुने IT कोर्स जनता बहुमुखी क्याम्पसले न्यून शुल्कमा पढाइरहेको दाबी गरे ।
पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर सुधार गरिएको क्याम्पसले दाबी गर्दै आएको छ । अध्ययनरत विद्यार्थीहरूले पछिल्ला वर्षमा प्राप्त गरेको उच्च अङ्कले पनि त्यो पुष्टि गरेको क्याम्पसको भनाई छ ।
यस क्याम्पसमा मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन लगायतका सङ्कायमा कक्षा ११/१२ सम्म साथै उच्च शिक्षामा स्नातकोत्तर तहसम्मका कार्यक्रमहरू सञ्चालित छन् । क्याम्पसले नयाँ नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएसँगै विद्यार्थीहरूको आकर्षण पनि बढेको छ ।