सुनसरी । जनता बहुमुखी क्याम्पस इटहरीमा प्रथम जेएमसी अन्तर्राष्ट्रिय शैक्षिक तथा प्राज्ञिक सम्मेलन सुरु भएको छ ।
सम्मेलनको आज बिहान नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले उद्घाटन गरेका छन् ।
सम्मेलनमा एक सय १२ वटा अनुसन्धानात्मक कार्यपत्रहरू प्रस्तुत हुनेछ ।
उच्च शिक्षामा नवीनता,अनुसन्धान र दिगोपनको मुख्य विषयमा आधारित रहेर बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरूले कार्यपत्र प्रस्तुत गरिरहेको जनता बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष विकास केसीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन भोलीसम्म इटहरी ५ स्थित क्याम्पसको प्राङ्गणमा सुरु भएको हो ।
शैक्षिक सम्मेलनलाई प्रमुख वक्ताको रूपमा रहेका दुई विदेशी र दुई नेपाली प्रोफेसरहरूले आज बिहान सम्बोधन गरेका छन् ।
jmc2
त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन विभागका डिन प्रोफेसर डा.महानन्द चालिसे, त्रिवि सेनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्की, भारतको बाबा मस्त नाथ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. एच.एल. वर्मा र कोलम्बिया विश्वविद्यालय टिचर्स कलेजका डा. प्रेम फ्याकले सम्बोधन गरेका छन् । सम्मेलनमा विभिन्न कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनमा १५ वटा प्लेनरी स्पिच, फिचर्ड स्पिच ४ र एक प्यानल डिस्कसन हुनेछ । यस्तै कार्यक्रमलाई थप आकर्षक बनाउन कविता प्रस्तुति, विचार गोष्ठी, अन्तरक्रियात्मक पोस्टर प्रदर्शनी,  विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला लगायतका कार्यक्रम गरिएको छ । 
सम्मेलनमा देश–विदेशका विभिन्न विश्वविद्यालय, क्याम्पस तथा शैक्षिक संस्थाका प्राध्यापक, शिक्षक, अनुसन्धानकर्ता र शैक्षिक व्यक्तित्वहरू सहभागी रहेको छ ।
भोलीसम्म चल्ने सम्मेलनले पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक बहस र अनुसन्धानको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।