इटहरी । सुनसरीका निजी विद्यालय सञ्चालकहरूले इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले जेनजी आन्दोलनका क्रममा विद्यार्थीलाई आन्दोलनमा पठाएर आगजनी गर्न उक्साएको भन्ने आरोपको कडा खण्डन गरेका छन्।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले बुधबार इटहरीमा आयोजना गरेको पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा निजी विद्यालय सञ्चालकहरूले नगरप्रमुख पौडेलका अभिव्यक्तिहरू कपोकल्पित र आधारहीन भएको दाबी गर्दै त्यसको प्रमाण पेश गर्न चुनौती दिएका हुन्।

नगरप्रमुख पौडेलले भदौ २३ र २४ गते भएको देशव्यापी जेनजी आन्दोलनका क्रममा इटहरीमा मात्र तोडफोड र आगजनी भएको भन्दै त्यसका लागि निजी विद्यालय सञ्चालकहरूले स्कुल बसमार्फत विद्यार्थी ओसारेर आगो लगाउन उक्साएको आशयको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। तर विद्यालय सञ्चालकहरूले यस्तो आरोप तथ्यहीन र पूर्वाग्रही भएको बताएका छन्।

हिसान सुनसरीका अध्यक्ष तथा केन्द्रिय सदस्य सागर भट्टराईले देशव्यापी आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्ति पनि स्कुलको पोसाकमै रहेको विद्यार्थी भएको तथ्य नगरप्रमुखले बिर्सिएको आरोप लगाए। उनले आन्दोलनलाई इटहरीमा मात्र केन्द्रित गरेर निजी विद्यालयलाई दोषारोपण गर्नु अन्यायपूर्ण भएको बताए।

त्यसैगरी हिसानका केन्द्रिय उपाध्यक्ष मुकुन्द घिमिरेले नगरप्रमुख पौडेलले कपोकल्पित आरोप लगाएर निजी विद्यालय सञ्चालकहरूलाई जबर्जस्ती दोषी करार गर्न खोजेको टिप्पणी गरे। उनले सार्वजनिक कार्यक्रमहरूमा पटक–पटक यस्ता आरोप दोहोरिनु दुःखद भएको उल्लेख गर्दै देशव्यापी आन्दोलनलाई इटहरीमा मात्र भएको जस्तो देखाएर लगाइएका आरोप प्रमाणित गर्न नगरप्रमुखलाई खुला चुनौती दिए।

हिसानका केन्द्रिय सचिव बलराम पन्तले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलनप्रति सहानुभूति भए पनि तोडफोड र आगजनीमा आफ्ना विद्यार्थीलाई जान नदिइएको स्पष्ट पारे। उनले विद्यालयको नाम जोडेर गरिएको आरोपले शैक्षिक क्षेत्रलाई बदनाम गर्ने काम भएको बताए।

नगरप्रमुख पौडेलले विभिन्न सार्वजनिक कार्यक्रमहरूमा निजी विद्यालय सञ्चालकहरूमाथि आरोप दोहोर्‍याउँदै आएपछि पहिलोपटक संगठित रूपमा हिसान सुनसरीले त्यसको खण्डन गर्दै प्रमाण प्रस्तुत गर्न चुनौती दिएको हो। निजी विद्यालय सञ्चालकहरूले निराधार आरोप तत्काल बन्द गर्न र जिम्मेवार अभिव्यक्ति दिन नगरप्रमुखसँग आग्रह गरेका छन्।