विराटनगर । इटहरीमा दुईदिने बाल कला महोत्सव आयोजना हुने भएको छ ।
पाथीभरा माध्यमिक विद्यालय, इटहरीको आयोजनामा आगामी फागुन १ र २ गते इटहरी बाल कला महोत्सव २०८२ आयोजना गर्न लागिएको हो ।
महोत्सवमा ३ वटा प्यानल डिस्कसन (छलफल) र २४ वटा कार्यशाला सञ्चालन हुनेछन् । महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त विभिन्न क्षेत्रका सर्जकहरूका साथै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहने विद्यालयले जनाएको छ ।
विद्यार्थीहरूमा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको विद्यालयका सञ्चालक निर्मल रिजालले बताए ।
महोत्सवमा सात हजारभन्दा बढी बालबालिकाको सहभागिता रहने विद्यालयका प्रधानाध्यापक गोपाल श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा शिक्षक, कलाकार तथा साहित्यकारहरूबाट कला र साहित्यका विविध विधाहरूमा कार्यशालाहरू सञ्चालन गरिनेछ ।
महोत्सव इटहरी उपमहानगरपालिकाको अभिभावकत्व, पाथीभरा माध्यमिक विद्यालयको आयोजना र बुकल्याण्ड काठमाडौँको सह(आयोजनामा हुन लागेको हो ।
यस कार्यक्रममा काव्य(डबली, प्याब्सन कोसी प्रदेश, प्याब्सन इटहरी, हिसान सुनसरी, सङ्गीत साधना प्रतिष्ठान इटहरी, कारखाना, वेदा, प्ले र नाइसको साझेदारी तथा सहकार्य रहेको छ ।

















