सुनसरी । सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिमाथि दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी ३८ वर्षीय फुर्वा शेर्पालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत दफा ४७(१) बमोजिमको कसुरमा चैत ४ गते पक्राउ गरिएको हो।
शेर्पाले सामाजिक सञ्जाल Facebook मार्फत असान्दर्भिक भिडियो पोस्ट गर्दै अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रकाशन गरी एक महिला पत्रकारको चरित्रहत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
व्यक्तिको प्रतिष्ठा तथा चरित्रमा असर पर्ने गरी भिडियो अपलोड गरेको भन्ने जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका शेर्पालाई जिल्ला अदालत सुनसरी बाट दुई दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय धरान मा राखेर अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरी ले जनाएको छ।
















