सुनसरी। इटहरी स्थित जनता बहुमुखी क्याम्पसले विद्यार्थीका लागि छात्रावास भवन निर्माण सुुरु गरेको छ । क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरुका लागि छात्रावास निर्माण गर्न लागिएको हो ।
शनिबार(आज) छात्रावास भवनको शिलान्यास गरिएको छ । जनता क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले भवनको शिलान्यास गरेका हुन ।
पाँच करोडको लगानीमा भवन निर्माण हुने क्याम्पसले जानकारी दिएको छ । तर पहिलो चरणमा अहिले एक करोड ४२ लाख अन्र्तगत काम सुरु गरिएको सञ्चालक समिति अध्यक्ष विकास केसीले जानकारी दिए । अध्ययन गर्ने छात्र, छात्राका लागि बेग्ला बेग्लै भवन निर्माण हुनेछ यो भवन निर्माणका लागि संघीय सरकारले बहुवर्षीय योजना अन्र्तगत बजेट विनियोजन गरेको अध्यक्ष केसीले जानकारी दिए ।
अहिले पहिलो चरणमा छात्र र छात्राका लागि अलग अलग १४, १४ वटा कोठाको एक तले भवन निर्माण हुनेछ। भवन निर्माणका लागि चारुमति कन्ट्रक्सन प्रालि वानेश्वर काठमाडौंले ठेक्का पाएको छ । पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र पुरा गर्ने सहमति भएको ठेकेदार जीवन तिम्सिनाले जानकारी दिए । भवन पूर्ण निर्माण हुँदा तीन तलाको बन्नेछ ।

दुर्गम तथा आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीलाई छात्रावासले लाभ पुग्ने क्याम्पस प्रमुख प्राध्यापक डाक्टर गीता अधिकारीले बताइन् ।
जनता क्याम्पसमा सुनसरीको बराहक्षेत्र, दुहवी, इनरुवासहित पूर्व मोरगंको विराटचोससम्मका विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । टाढाबाट आउने विद्यार्थीलाई ७ वटा बसले निःशुल्क ल्याउने पुर्याउने गरेको क्याम्पसले जानकारी दिएको छ ।
क्याम्पसमा उच्च शिक्षा लिन पूर्वी पहाडबाट विद्यार्थीहरु इटहरीमा भाडामा बसेर अध्ययन गर्ने गरेका छन् । यो भवन बनेपछि त्यस्ता विद्यार्थीलाई सहज हुने क्याम्पसको विश्वास छ ।
यहाँ, स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन छन् । यस्तै कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम सहित ६ हजार बढी विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जानकारी दिएको छ ।

















