सुनसरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका ४ वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएका छन्।
मातहतका इकाइहरूको संयुक्त चेकिङका क्रममा लिइएका सवारी साधन पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा विभिन्न मितिमा गरिएको सवारी चेकजाँचका क्रममा आवश्यक कागजात नभएका तथा आफुखुसी नक्कली नम्बर प्लेट प्रयोग गरी कानूनविपरीत सञ्चालन भइरहेका सवारी साधनहरू नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका सवारीमध्ये २०८२ चैत १० गते सुनसरीको इटहरी चोकबाट प्र.१-०१-००१ च ९९१२ नम्बरको सेतो रंगको टाटा कम्पनीको पन्च निजी कार, भोक्राहा नरसिंह गाउँपालिका–३ लौकहीबाट प्रदेश २-००२ च ४०९८ नम्बरको सेतो रंगको महेन्द्रा कम्पनीको बोलेरो पिकअप, झापाको बिर्तामोड नगरपालिका–५ बाट बा१३ च ७७६ नम्बरको डार्क ग्रे मेटालिक रंगको हुण्डाई कम्पनीको i20 निजी कार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी, झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीबाट SK01PA3029 नम्बरको भारतीय मारुति सुजुकी कम्पनीको कार पनि नियन्त्रणमा लिइएको छ।
उक्त सवारीको आरसी बुकमा उल्लेखित इन्जिन र चेसिस नम्बर फरक रहेको पाइएपछि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सेतुबन्ध भन्सार कार्यालय, कोशी ब्यारेज सुनसरीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

















