सुनसरी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुनसरी जिल्लाबाट ४३ जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् ।
तीमध्ये ६ जना विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् भने ३७ जना निजी विद्यालयका विद्यार्थी रहेका छन् ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका सूचना अधिकारी रुद्र राईका अनुसार चार जिपिए ल्याउने सबै सामुदायिक विद्यालय इटहरी उपमहानगरपालिका क्षेत्रका रहेका छन् । सामुदायिक विद्यालयबाट चार जिपिए ल्याउने सबै विद्यार्थी छात्रा रहेका छन् ।
जनसहयोग माध्यमिक विद्यालय, हासपोसाकी युनिका नेपाल, जनता माध्यमिक विद्यालयकी आकृति दंगाल र आर्जु रेग्मीले चार जिपिए प्राप्त गरेका छन् । त्यसै गरी सरस्वती माध्यमिक विद्यालय, बौकाझोडाकी निमिक्षा आचार्य तथा राष्ट्रिय माध्यमिक विद्यालय, हासपोसाकी अभिजल याख्या र एलिसा दाहालले पनि उत्कृष्ट नतिजा सहित चार जिपिए ल्याउन सफल भएका छन् ।
सामुदायिक विद्यालयका छात्राहरूले उत्कृष्ट नतिजा ल्याएपछि जिल्लामा सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारतर्फ सकारात्मक सन्देश गएको शिक्षा क्षेत्रका जानकारहरूले बताएका छन् । पछिल्ला वर्षहरूमा निजी विद्यालयको तुलनामा कमजोर मानिँदै आएका सामुदायिक विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्नु उपलब्धि मूलक मानिएको राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कोबिदजंग कार्कीले बताए ।
निजी विद्यालयतर्फ भने १४ वटा विद्यालयका ३७ जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । सबैभन्दा बढी इनरुवा नगरपालिका–३ स्थित सरस्वती ज्ञान कुञ्ज स्कुलका ९ जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन् ।
उक्त विद्यालयका भुवनदेव मेहता, कृतिका कुमारी झा, नेहारिका अख्तर साइबा, रमिज राजा, श्रेया झा, सुभम पोखरेल, स्लेमा खड्का, स्मृति यादव र सुयोग ढकाल रहेका छन् ।
इटहरीस्थित ग्रीनपिस एकेडेमीका ६ जना विद्यार्थी अर्पित न्यौपाने, निष्पक्ष न्यौपाने, संगम अधिकारी, स्नेहा कार्की, युजिन भट्टराई र युना खड्काले पनि चार जिपिए ल्याएका छन् ।
त्यसै गरी इनरुवाको प्रिसियस एकेडेमीका विद्या आर्य, रोसिका श्रेष्ठ, सलमान अन्सारी र सेमी कुमारी मेहता गरी चार जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् ।
इटहरीको विश्व आदर्श स्कुलबाट आदर्श भट्टराई, अदिस आचार्य र प्रतीक्षा खड्काले चार जिपिए ल्याएका छन् भने धरानस्थित युरेका आवासीय विद्यालयका इशान क्षेत्री, नमन गुप्ता र सुयश खतिवडाले पनि सोही सफलता हासिल गरेका छन् ।
पाथीभरा स्कुल इटहरीका अल्बिस ढकाल र बालसन श्रेष्ठ, विष्णु मेमोरियल धरानका सामुयल कोइराला विक र सेजल गुप्ता तथा ज्ञान विमर्श स्कुल इनरुवाका सचिन्द्र मण्डल धानुक र शिवकुमार यादवले पनि चार जिपिए ल्याउन सफल भएका छन् ।
यस्तै गोदावरी विद्या मन्दिर इटहरीकी आकृति थापा मगर, मर्निङ स्टार स्कुल महेन्द्रनगर चक्रघटीका अभिन्स श्रेष्ठ, कस्तुरी स्कुल इटहरीका अनुभव बस्नेत, नेपाल डीभीएम ग्लोबल एकेडेमी इटहरीकी शिखा विश्वकर्मा, फ्युचर स्टार स्कुल इटहरीकी सिमरिका दाहाल तथा होली लाइफ पब्लिक स्कुल हरिनगरका केञ्जल शाहले पनि चार जिपिए प्राप्त गरेका छन् ।
यस वर्ष सुनसरीबाट एसइई परीक्षामा १३ हजार ६ सय ८ विद्यार्थी सहभागी भएका थिए ।

















