सुनसरी । मोरङमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको छ । अघिल्लो वर्ष जम्मा १८ जना विद्यार्थीले मात्रै ४ जीपीए ल्याएको जिल्लामा यसपटक ७९ जना विद्यार्थीले उत्कृष्ट नतिजा निकाल्दै मोरङको समग्र शैक्षिक स्तरमा उल्लेखनीय सुधार भएको संकेत गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका अनुसार यस वर्ष संस्थागत विद्यालयसँगै सामुदायिक विद्यालयहरूको नतिजा पनि उत्साहजनक देखिएको छ ।

विशेषगरी विगत केही वर्षदेखि निरन्तर सुधारको यात्रामा रहेका सामुदायिक विद्यालयहरूले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रमाणित गरेका छन् ।

सामुदायिक विद्यालयतर्फ विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयले सबैभन्दा प्रभावशाली नतिजा दिएको छ । कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको पहिचान बनाएको पोखरियाका ११ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । विद्यालयका अनुसार आयुष गुप्ता, अभिमन्यु पोद्दार, खुशी गुप्ता, कृपाशा दाहाल, मिसन राजवंशी, रामकृष्ण न्यौपाने, रसिक कोइराला, साकेतरञ्जन ठाकुर, सौगात फुयाल, सिवानी गेलाल र सुयोग पोखरेलले उत्कृष्ट नतिजा ल्याएका हुन् ।

विद्यालयबाट एसईईमा सहभागी ४५६ विद्यार्थीसध्ये ४५४ जना अर्थात ९९ दशमलव ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३.९० देखि ३.९७ जीपीए ल्याउने ३४ जना, ३.८० माथि ८७ जना र ३.७० माथि जीपीए ल्याउने ११७ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले शिक्षक, अभिभावक र विद्यार्थीबीचको निरन्तर समन्वयले यस्तो सफलता सम्भव भएको बताए ।

यसपटक विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयले पनि इतिहास रचेको छ । विद्यालयका रोहितकुमार साह र सुभमकुमार ठाकुरले पहिलो पटक ४ जीपीए ल्याएपछि विद्यालयमा उत्साह छाएको छ । विद्यालयका शिक्षक प्रभात नेपालका अनुसार यसअघि कुनै पनि विद्यार्थीले ४ जीपीए प्राप्त गर्न सकेका थिएनन् ।

सत्यनारायण माविबाट ५० जना विद्यार्थीले ३.६ देखि ४.०० जीपीए ल्याएका छन् भने १०८ जनाले ३.२ देखि ३.६० जीपीए प्राप्त गरेका छन् ।

सामुदायिक विद्यालयतर्फकै अर्को चर्चित विद्यालय आदर्श माध्यमिक विद्यालयले पनि आफ्नो नतिजामा सुधार गरेको छ । विद्यालयका दुई जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । ३९१ परीक्षार्थीमध्ये ९६ दशमलव ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।

उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयकी छात्रा मनिका लामिछाने र सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयकी सोयाङ राईले पनि ४ जीपीए ल्याएर सामुदायिक विद्यालयको साख उँचो बनाएका छन् ।

संस्थागत विद्यालयतर्फ विराटनगर–११ स्थित वालकल्याण विद्या मन्दिर (बीकेभीएम) ले यस वर्ष सबैभन्दा ठूलो छलाङ मारेको छ । गत वर्ष चार जना विद्यार्थीले मात्रै ४ जीपीए ल्याएको विद्यालयमा यस वर्ष १८ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।

विद्यालयका अनुसार आरुषा कोइराला, आयुषी कृतिका खड्गी, आयुषी साह, अधिराज खतिवडा, अमोद काफ्ले, अनमोल पोखरेल, कोपिला आचार्य, मञ्जित यादव, मानवी खड्का, निहारिका दाहाल, प्रिन्स बाबु यादव, प्रिया यादव, राजन साह, रिति दाहाल, शुभम बज्राचार्य, सिम्रन यादव, स्नेहा वस्ती र तेजस्वी खनालले ४ जीपीए ल्याएका हुन् ।

विद्यालयका २२७ जना विद्यार्थीले ३.६१ देखि ४.०० सम्मको जीपीए प्राप्त गरेका छन् ।

सुन्दरहरैंचास्थित सिद्धार्थ बोर्डिङ स्कुलका छ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । अविज्ञा आचार्य, युनिशा थापा, प्रेरणा राई, अञ्जना कार्की, सलिना गिरी र आर्थिक बस्नेतले उत्कृष्ट नतिजा निकालेका हुन् ।

विराटनगरस्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलका चार जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । आस्था रौनियार, इप्सिका चापागाईं, सुप्रिया सिंह र उत्सव थापाले सर्वोत्कृष्ट नतिजा हासिल गरेका हुन् ।

त्यस्तै बूढानीलकण्ठ सेकेण्डरी इङ्लिस स्कूलका आयुष ढुंगाना, आयुषा ढुंगाना र सरस अधिकारीले ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयका प्रिन्सिपल मणिराज भट्टराईका अनुसार ६८ जना विद्यार्थीले ३.६ देखि ४.० जीपीए ल्याएका छन् ।

उर्लाबारीस्थित नेपाल आदर्श इङ्लिस सेकेण्डरी स्कुलका प्रेक्षा खड्का, श्रृजन पाण्डे र मेरिना कार्कीले पनि ४ जीपीए ल्याएका छन् ।

सेन्ट जोसेफ सेकेण्डरी स्कुलका नीतिशा सन्थालिया र बरदान केसी, मोर्डन एराका नितेश यादव, रंगेलीस्थित मिनील्याण्ड इङ्लिस बोर्डिङ स्कुलका भानुभक्त भट्टराई, लिलीपुट प्रिमियर स्कुलकी सभ्यता भण्डारी तथा ग्रामथानस्थित शारदा बोर्डिङ स्कुलका नारायण लुईंटेलले पनि ४ जीपीए ल्याउँदै उत्कृष्टता हासिल गरेका छन् ।