इटहरी । गएको आइतबार मोरङको सुन्दरहैचा नगरपालिका–१२ विराटचोकमा रहेको एरीका मेडिकल हलका संचालक मनोज खत्री पक्राउ परे । उनलाई औषधि व्यवस्था विभाग विराटनगर र इलाका प्रहरी कार्यालय बेलवारीले गरेको अनुगमन पछि पक्राउ गरिएको हो । 

खत्रीले औषधीको दुरुपयोग गरि लागूऔषध प्रयोग कर्तालाई बेचेको भेटिएपछि पक्राउ गर्रिको औषधी व्यबस्था विभाग विराटनगरले जनाएको छ । 

मेडिकल हल सिलबन्दी गरीएको छ । पक्राउ परेका खत्रीले एपनाडेल, ट्रमाडोल, ओपिडोल नामक औषधि लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको पाइएको थियो । 

औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक तथा सूचना अधिकारी दिपेन्द्र खड्काले क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने ट्रमाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने बताए । 

उनले  प्रिगाभालीन, ट्रमाडोल नामको औषधि लागूऔषध प्रयोगकर्तालाई खत्रीले विक्री–वितरण गर्ने गरेको फेला परेको विभागले बताए । 

प्रिगाभालीन नसा च्यापिएका बिरामीले प्रयोग गर्दछन् । यस्तै, ट्रमाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधि दुःखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ । 

यसअघि पनि विभागले धरान उपमहानगरपालिका–१८ घोपा क्याप अगाडिको बिम्ब फार्मेसीका संचालक नवीन राईले औषधिको दुरूपयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको थियो । 

धरान ११ सयपत्री चौकस्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानका २३ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेपछि फार्मेसी संचालक राईले औषधिको दुरूपयोग गर्ने गरेको खुलेको थियो । 

विराटचोक र धरानमा यसरी औषधीको दुरुपोयोग गरिएको भेटिएपछि विभागले प्रदेशका बिभिन्न जिल्लामा अनुगमन थालेको छ ।

अनुगमनका क्रममा  फार्मेसी संचालकहरूको बदमासीका कारण बिरामीले सेवन गर्ने औषधिको कोशी प्रदेशमा चरम दुरूपयोग हुने गरेको पाइएको छ । 

कमाउ धन्दामा लागेका व्यक्तिका कारणले फार्मेसी संचालकहरूले औषधिको अनुचित प्रयोग गरी लागूऔषध दुव्र्येसनीहरूलाई बेच्ने गरेको पाइएको हो । 

यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको भेटिएको छ । औषधि व्यवस्था विभागले पछिल्लो समय जनगुनासो आधारमा अनुगमन गर्ने क्रममा औषधिको चरम दुरूपयोग गर्ने गरेको पाइएको हो ।