सुनसरी -  कोशी प्रदेश स्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मोरंङ जिल्ला प्रथम भएको छ । इटहरीमा सोमबार देखी सुरु भएको प्रतियोगिताको अन्तिम दिन बुधबार मोरंङ १५ स्वणर्, १२ रजत र ३ कास्य सहित कूल ३० पदकका साथ प्रथम भएको हो ।

१० स्वणर्, ११ रजत र ८ कास्य सहित २९ पदकका साथ झापा द्धितीय भएको छ । सुनसरी ८ स्वणर्, ८ रजत र ५ कास्य सहित तेस्रो भएको छ । कोशी प्रदेश खेलकुद बिकास बोर्डको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा प्रतियोगिता सोमबार सुरु भएको थियो ।

प्रतियोगितामा १४ वटै जिल्लाबाट छनौट भएर आएका कोशी प्रदेशका १ हजार २ सय खेलाडीको सहभागिता रहेको कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको गरी ६ विधामा सञ्चालन भएको प्रतियोगिताबाट छानिएका खेलाडीलाई काठमाण्डौका लागि बिदाई गरिएको वाग्लेले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशबाट छनौट भएका १ सय ११ जना खेलाडीलाई काठमाण्डौमा शुक्रबारदेखी हुने राष्टिय प्रतियोगिताको लागि बिदाई गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाण्डौमा हुने केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट जम्मा ६ सय ५८ खेलाडीको सहभागिता रहने राखेपले जनाएको छ ।