विराटनगर । कोशी प्रदेशका ७ जिल्लामा पहाडी क्षेत्र काष्ठ फल तथा फलफुल विकास आयोजना सुरु भएको छ ।
नेपाल सरकार र एसियाली विकास बैङ्कको सहयोग तथा अनुदानमा कोशी प्रदेशका ७ जिल्लाका २२ स्थानीय तहमा परियोजना सुरु भएको हो ।
कोशी प्रदेशमा एभोकाडो, किवी, सुन्तला, जुनार, कागती र स्याउको उत्पादनमा यो बजेट खर्च गरिने छ ।
कोशी प्रदेश सहित बाग्मतीको ८, कर्णालीको ९, गण्डकी प्रदेशको १० जिल्ला र सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा आयोजना सुरु भएको हो ।
पहाडी क्षेत्र काष्ठ फल तथा फलफुल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन एकाइ र प्रदेश व्यवस्थापन एकाइको सहयोगमा विराटनगरमा भएको प्रदेश स्तरीय अभिमुखीकरण गोष्ठीमा फलफुल र तरकारीलाई लक्षित गरी आयोजना सुरु भएको जानकारी दिइएको छ ।
कोशी प्रदेशको पाँचथर, तेह्रथुम, धनकुटा , भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका २ हजार २०० हेक्टरमा पहाडी क्षेत्र काष्ठ फल तथा फलफुल विकास आयोजना सञ्चालन हुने जनाइएको छ ।
पहाडी क्षेत्र काष्ठ फल तथा फलफुल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन एकाइका आयोजना निर्देशक राजेन्द्र कोइरालाले ९३ दशमलव ४५ अर्ब रकम खर्च गर्नेगरि आयोजना सुरु भएको जानकारी दिए ।
न्यूनतम २० रोपनीदेखि अधिकतम २५ हेक्टर अर्थात् ५०० रोपनीसम्म क्षेत्रफलमा काम गर्न ४० हजार किसानसम्म पुग्नेसरि आयोजना आएको छ, कोइरालाले भने, ४० हजार मध्ये ३० हजार फलफुल र १० हजार किसानले तरकारीमा जोडेर लग्ने काम हुनेछ ।
कोशी प्रदेशमा एभोकाडो, किवी, सुन्तला, जुनार, कागती र स्याउमा काम हुने कोइरालाले जानकारी दिए ।
एउटा कृषि फार्मले न्यूनतम ५० लाखदेखि अधिकतम १ करोडसम्म किसानले अनुदान पाउनेछन् ।
उनले भने, यो कार्यक्रम मार्फत किसान उत्पादन, बागवानी क्षेत्र व्यवस्थापन र मूल्य श्रृङखलामा काम गर्नु पर्ने अवस्था छ । आयोजना कार्यान्वयन एकाइ कोशी प्रदेशका परियोजना संयोजक प्रकाशकुमार डाँगीले प्रदेशको जनशक्ति कम हुँदा हुँदै पनि लक्ष्य प्राप्ति कालागि अनवरत रूपमा लाग्नु पर्ने अवस्था आएको बताए ।