सुनसरी । इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडरेसन (आईपीपीएफ) का महानिर्देशक डा.अलभाइरो बर्मेजो इटहरी आएका छन । चारदिने नेपाल भ्रमणमा रहेका बर्मेजोले सुनसरीको इटहरीस्थित परिवार नियोजन संघको निरिक्षण गर्न बुधबार दिउसो इटहरी आएका हुन ।

परिवार नियोजन संघ इटहरीको निरिक्षण पश्चात भएको अन्तक्रियामा बोल्दै उनले ६० बर्षदेखी नेपाललाई दिइदै आएको सहयोगलाई निरन्तरता दिने बताए । सोमबार सांझ नेपाल भ्रमणमा आएका महानिर्देशक डा.बर्मेजोले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसंग उच्चस्तरीय भेटघाट गरेको र प्रधानमन्त्रीले पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरेको जानकारी दिए ।

काठमाण्डौ उपत्यका बाहिर बिराटनगर र इटहरीको परिवार स्वास्थ्य केन्द्रको निरिक्षणको कार्यतालिका अनुसार बुधबार बिराटनगर हुदै इटहरी आएका उनले नेपाल सरकारले पनि बजेटमा यौन स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औल्याए । महासंघ उच्च नेतृत्वबाट यो तहबाट भएको  दोस्रोे पटकको नेपाल भ्रमणका क्रममा डा. बर्मेजोले नेपाल परिवार नियोजन संघ आईपीपीएफ सदस्य भएकाले दिइदै आएको सहयोगलाई नरोक्ने बताउदै जनसंख्या वृद्घिदर घटेपनि परिवार नियोजनको औचित्य नसकिने प्रष्ट पारे ।नेपाल भ्रमणका क्रममा निक्कै अनुभव मिलेको उल्लेख गर्दै  डा. बर्मेजोले खुशी र व्यस्थित परिवार निर्माणका लागि परिवार नियोजनमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आईपीपीएफ दक्षिण एशियाली क्षेत्रकी क्षेत्रिय निर्देशक सोनल मेहताले स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवामा स्थानियको सहज पहुंच हुनुपर्ने बताइन । परिवार नियोजनलाई जनसंख्यासँग मात्र हेर्ने गरिएको बताउदै उनले जनचेतना बिस्तार गर्दै परिवार नियोजन सेवा व्यापक बनाउन बिभिन्न क्षेत्रसंग हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताइन ।

नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमाल कसजूले अहिले पनि अधिकांश नेपालीले चाहेको बेला परिवार नियोजनका साधन पाउन नसकेको बताउदै परिवार नियोजन सेवा जनताको अधिकार भएकोले तीनै तहको सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । संघका कार्यकारी निर्देशक डा.नरेश प्रताप केसीले यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा सरकारी तथा अन्य संघ संस्थाले लगानी बढाउदै लैजानुपर्ने बताए ।

कार्यक्रममा महिला यौनकर्मी, अपांगता भएका व्यक्ति, यौनिक अल्यसंख्यक, सहित सरोकारवाला निकायका प्रतिनिधिहरुले अन्य स्वास्थ्य संस्थामा खुलेर उपचार लिन नसकिने भएकाले परिवार नियोजन सेवाको निरन्तरताका लागि आईपीपीएफले सहयोग जारी राख्ने पर्नेमा जोड दिए ।

संघकी इटहरी प्रमुख सुजन काफ्लेले परम्परागत मुल्य मान्यताको कारण अझै पनि कतिपय महिलाहरु खुलेर आउन नसकेको बताइन । बर्सेनी सेवाग्राहीको चाप बढेपनि पूर्वाधार र पर्याप्त सामाग्रीको अभाव कायमै रहेको बताइन ।

आईपीपीएफ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको सस्था मानिन्छ । यो संस्थामा विश्वका एक सय ४२ देशका परिवार नियोजन संघ आबद्ध छन् । नेपाल परिवार नियोजन संघले पनि उक्त महासंघको सन् १९६० मा अस्थायी सदस्यता तथा सन् १९६९ मा पूणर्कालीन सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेदेखिनै परिवार नियोजन संघले आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ ।