सुनसरी ।  युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले खेलकुद क्षेत्रका लागि निराशाजनक बजेट आएको बताएका छन । इटहरीमा नेपाल लोकतान्त्रिक खेलकुद संघको कोशी प्रदेश भेलालाई सम्बोधन गर्न आएको मन्त्री लिम्बुले बजेट विनियोजनबाट आफू सन्तुष्ट हुन नसकेको बताए । खेलकुदको लागि यो खुसी हुने खालको बजेट नभएकाले यसबारे अर्थमन्त्रीसँग कुरा गर्ने उनले जानकारी दिए । बजेटबारे संसदमा हुने छलफलमा पनि कुरा राख्ने मन्त्री लिम्बुले बताए । सरकारले चालू आर्थिक वर्षका लागि ३ अर्ब २५ करोड २५ लाखको बजेट विनियोजन गरेको थियो । प्रदेश र स्थानीय तहको बजेटमा खासै थपघट गरिएको छैन । तर, संघीय बजेटमा उल्लेख्य कटौती गरिएको प्रति मन्त्री लिम्बुले असन्तुष्टी जनाए । 

   यसैबिच नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघका पदाधिकारीले राष्टिय खेलकुद परिषदका सदस्य सचिव परिवर्तन गर्न खेलकुद मन्त्री लिम्बुलाई दबाब दिएका छन । लोकतान्त्रिक खेलकुद संघको कोशी प्रदेश भेला तथा अन्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले राखेपको सदस्य सचिव टंकलाल घिसिङलाई हटाएर कांग्रेस निकटलाई नियुत्ती गर्न कार्यक्रमका प्रमुख अतिथि समेत रहेका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुलाई आग्रह गरे । 

      कार्यक्रममा बोल्दै नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष देबेन्द्र कुमार शेरचनले खेलकुद मन्त्रालय कांग्रेसको भागमा परेकाले राखेपको सदस्य सचिव पनि कांग्रेस कोटाबाटै हुनुपर्ने बताए । उनले कोशी प्रदेशबाट सुरु भएको भेला सातै प्रदेशमा आयोजना गरेर बर्तमान सदस्य सचिव परिवर्तन गरेर नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ निकटलाई सदस्य सचिव बनाउन दबाब दिइने बताए । खेलकुदमा अहिले मनपरी भैरहेकाले यसलाई रोक्न पनि सदस्य सचिव परिवर्तन गर्नुपर्ने शेरचनको भनाई थियो । 

    कांग्रेस केन्द्रिय सदस्य राजीव कोइरालाले युवाहरुको बाहुल्य रहेको पार्टी नेपाली कांग्रेस भएकाले पनि खेलकुद मन्त्रालयमा धेरैले आशा राखेको बताउदै अबको नियुत्तीहरुमा महत्वपूणर् भूमिका खेल्न मन्त्री लिम्बुलाई आग्रह गरे । गठबन्धनको नाममा संघ र प्रदेशमा रहेका खेलकुदका निकायमा कांग्रेसको उपस्थिती निराशाजनक रहेकोले गठबन्धनलाई भन्दा संगठनलाई महत्व दिन कोइरालाले मन्त्री लिम्बु सामु आग्रह गरे । 

      लोकतान्त्रिक खेलकुद संघका कोशी प्रदेश अध्यक्ष बसन्त अर्यालले धेरै खेलाडी तथा पदाधिकारीहरु पार्टीसंग असन्तुष्ट रहेकाले उनीहरुलाई समेट्नको लागि पनि खेलकुद मन्त्रालय मार्फत पहल हुनुपर्ने बताए । 

      कार्यकर्ताको दबाब मूलक मन्तब्य सुनिसकेपछी प्रमुख अतिथि समेत रहेका खेलकुद मन्त्री लिम्बुले आफू पार्टीको कार्यकर्ता भएकाले पार्टी निकट पदाधिकारीलाई नियुत्ती दिन छलफल गरी अघि बढ्ने बताए । गठबन्धनको नाममा पदाधिकारी नियुक्त गर्ने परम्परालाई तोड्ने आश्वासन दिदै मन्त्री लिम्बुले पार्टीका शिर्ष नेताहरुलाई कार्यकर्ताले घचघच्याउनुपर्ने बताए । ७७ वटै जिल्लामा कुनै गुट उपगुटमा नअल्झिई लोकतान्त्रिक खेलकुद संघ बिस्तार गर्दै सबैलाई समेट्न आग्रह गरे । उनले एकजूट भएर आफूकाहा आए कार्यकर्तालाई निराश नबनाउने बताए ।