सुनसरी । बिभागीय टिम नेपाल पुलिस र एपीएफ क्लबले मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगितामा बिजयी सुरुवात गरेका छन । इटहरी रंगशालामा सोमबार राती सम्पन्न खेलहरुमा पुलिसले अर्को बिभागीय टिम त्रिभुवन आर्मी क्लबलाई र एपीएफले बागमती प्रदेशलाई पराजित गरेको छ । इटहरी रंगशालाको भलिबल कोर्ट सम्पन्न आफ्नो पहिलो खेलमा पुलिसले आर्मीमाथी ३-० को सोझो सेटको जित दर्ता गर्यो । पहिलो सेट २५-२० ले जीतेको पुलिसले दोस्रो सेट २५-१९ र तेस्रो सेटमा २५-२१ ले जित्यो । उक्त खेलको म्यानअफ द म्याच पुलिस क्लबकी कामना बिष्ट घोषित भइन ।

त्यसअघि हिजो सांझ भएको उद्धघाटन खेलमा  एपीएफले बागमती प्रदेशलाई ३-१ को सेटले पराजित गर्यो । पहिलो सेट २३-२५ ले गुमाएको एपीएफले त्यसपछी २५-२२, २५-१७ र २५-१८ को सहज जीत हात पारेपछी बागमती माथी पुनरागमन जीत दर्ता गरेको हो । उक्त खेलको म्यानअफ द म्याच पुलिस क्लबकी सरस्वती चौधरी घोषित भइन ।

     पहिलो दिनको खेलसंगै समुह ए मा रहेको एपीएफले ३ अंक जोडेको छ भने समुह बी को पुलिसले पनि ३ अंक जोडेको छ । समुह ए मा एपीएफसंगै बागमती र कोशी प्रदेश रहेका छन । समुह बी मा आर्मी सहित नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश रहेका छन । दुबै समुहबाट समुह बिजेता र उपबिजेता सेमिफाइनलमा प्रतिष्पर्धा गर्न पाउने छन । सेमिफाइनल बिजेता बिच जेठ ३२ गते उपाधी भिडन्त हुनेछ । उपाधि बिजेताले नगद ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैया पुरस्कार पाउने छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन । यस्तै उत्कृष्ट विधाहरु अन्तर्गत बेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेण्डरलाई जनही १५ हजार प्रदान गरिने छ ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रदेशिक रंगशाला, इटहरीमा सुरु प्रतियोगितामा तीन बिभागीय सहित ६ टिमको सहभागिता रहेको प्रदेश खेलकुद बिकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । कुल २५ लाख रुपैया खर्च हुने प्रतियोगितामा प्रत्येक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक ब्यवस्थापक गरी १४ जनालाई यातायात खर्च र नियम अनुसार दैनिक भ्रमणभक्ता उपलब्ध गराइने पनि आयोजकले जनाएको छ ।

अत्याधिक गर्मीको मौसम रहेकाले प्रतियोगिता रातीको समयमा आयोजना गरिएको वाग्लेको भनाई छ । यसअघि प्रतियोगिता जेठ १८ देखी २१ गतेसम्म इटहरीमै आयोजना गर्ने कार्यतालिका रहेपनि सदस्य सचिव बर्खास्ती प्रकरणले ढिलाई भएको हो । मुख्यमन्त्री पुरुष राष्टिय भलिबल प्रतियोगिता भने गत बैशाख १४ देखी १७ गतेसम्म झापाको दमकमा सम्पन्न भइसकेको छ ।