सुनसरी । इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालालाई आफ्नो मातहत ल्याउने भएको छ । उपमहानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा इटहरी ९ मा सञ्चालित राखेपको स्वामित्वमा रहेको रंगशालालाई उपमहानगरपालिकले स्वामित्व लिइ सञ्चालन गर्न आवश्यक पहल गरिने उल्लेख छ । रंगशाला स्थानिय सरकारको स्वामित्वमा नआउदा संरक्षणमा समस्या हुने गरेको गुनासो बढेपछी उपमहानगरले आफु मातहत ल्याउन पहल गर्ने भएको हो ।
उपमहानगरले एक वडा एक खेल मैदान निर्माण गरिने समेत जनाएको छ । यस्तै इटहरी उपमहानगरपालिकामा दर्ता भएका खेलसँग सम्बन्धित संस्थाहरुलाई प्रतियोगीता सञ्चालनका लागि आवश्यक खेल सामग्रीहरु उपलब्ध गराइने जनाइएको छ । यस्तै नगर खेलकुद सञ्चालन नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । नगर क्षेत्र भित्र प्रत्येक वडामा खुल्ला व्यायामशाला स्थापना गरिने बताइएको छ ।
उपमहानगरले नगर खेलकुद विकास समिति गठन तथा कार्यालय सञ्चालनको व्यवस्था मिलाइने जनाएको छ । बिगत बर्षदेखी हुदै आएको राष्ट्रपति रनिङ्ग शिल्डप्रतियोगीता सञ्चालनको व्यवस्था मिलाइने र नगरस्तरीय खेलकुद प्रतियोगिताहरु (मेयर कप, फूटबल, भलिबल, उसु, कराँते, तेक्वान्दो, टेवल टेनिस, ब्याडमिण्टन, एथेलेटिक्स, क्रिकेट, म्याराथुन, फुटसल, फेन्सिङ, बास्केटबल, बुद्धिचाल, स्नुकर आदि ) सञ्चालनको व्यवस्थालाई निरन्तरता दिएको छ ।
महिलाहरुलाई समेत खेलकुद प्रति उत्प्रेरित गराउनका निम्ति उपमेयर कप मार्फत महिला फुटबल, भलिबल, कराते, कबडि जस्ता खेलकुद प्रतियोगिता संचालन गरिने उल्लेख छ । खेलसँग सम्बन्धित सम्पूणर् कार्यक्रमहरु नगर खेलकुद विकास समितिको निणर्यानुसार सञ्चालन हुने ब्यवस्था मिलाइने जनाइएको छ ।
खेलकुदसँग सम्बन्धित संस्थाहरु उपमहागरपालिकामा दर्ता गरी खेल क्षेत्रको विकासलाई ब्यवस्थित बनाइने उपमहानगरको योजना छ । अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेशस्तरीय र जिल्लास्तरीय खेलकुद प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नगर भित्रका खेलाडीहरुलाई सम्मान र पुरस्कारको व्यवस्था गर्ने उपमहानगरले नीति लिएको छ ।
अन्तष्ट्रिय, राष्ट्रिय, प्रदेशस्तरी, जिल्लास्तरीय तथा अन्तर पालिकास्तरीय खेलकुद प्रतियोगीतामा सहभागीताको ब्यवस्था मिलाइने र नगरपालिका क्षेत्र भित्र रहेका खेल मैदानहरुलाई स्तरोन्नति गर्दै लगिन समेत नीति तथा कार्यक्रममा समावेश छ । यसबाहेक नगरस्तरीय अपाङ् खेलकुद प्रतियोगीता समेत सञ्चालन गरिने उपमहानगरको योजना रहेको छ ।