सुनसरी । इटहरी अस्पतालमा डायलिसिस सेवा सुरु हुने भएको छ । रोटरी क्लब अफ इटहरीले ६७ लाख रुपैया बराबरको तीन थान डायलासिस मेसिन हस्तान्तरण गरेपछी नगरबासीले डायलासिस उपचार सेवा पाउने भएका हुन ।
नगरमा रहेको एकमात्र सरकारी अस्पतालमा आइसियु, भेन्टिलेटर सहित डायलिसिस सेवा उपलब्ध हुने भएपछी मृगौला रोगीहरुलाई उपचारका लागि बिराटनगर र धरान धाउनुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ । रोटरी क्लब अफ इटहरीले हस्तान्तरण गरेको डायलिसिस मेसिन सञ्चालनको लागि आवश्यक जनशक्तिको रूपमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सम्झौता भएको क्लबका सचिव चेतन धमलाले बताए ।
रोटरी क्लबले अस्पताललाई एक बर्षअघि नै डायलासिस सेवा सुचारु गर्नका लागि सबै तयारी गरी आग्रह गरेपनि जनशक्ति अभावमा काम अघि बढ्न सकेको थिएन ।
मेसिन सञ्चालनका लागि मंगलबार जडानका सम्पूणर् प्रक्रिया पुरा गरी क्लबले अस्पताललाई मेसिन हस्तान्तरण गरेपछी सञ्चालनको बाटो खुलेको हो । २०६८ ताका एक लाख ४० हजार मानिसको बसोबास रहेको इटहरी उपमहानगरपालिकामा १० वर्षको अवधिमा जनसंख्या बढेर झन्डै दुई लाख पुगेको छ ।
तिब्ररुपमा जनघनत्व बढेसंगै इटहरी अस्पतालको सेवा बिस्तार नहुदा यहाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाका लागि धरान, विराटनगर अथवा काठमाडौंनै पुग्नुपर्ने बाध्यता अझै कायमै छ ।