सुनसरी । गौरव भण्डारीको उत्कृष्ट प्रदर्शनमा इटहरी जेसिजले प्रेस युनियन सुनसरीद्वारा आयोजित प्रथम प्रेस  युनियन फुटसल प्रतियोगिताको उपाधि जितेको छ । इटहरी स्थित एसडी फुटसलमा शनिवार सम्पन्न फाइनल खेलमा इटहरी जेसिजले प्रेस सेन्टर सुनसरीलाई ८-४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता जेसिजले नगद १० हजार र शिल्ड तथा उप-बिजेता प्रेस सेन्टरले ५ हजार र शिल्ड पाएको छ । 

    इटहरी जेसिजलाई उपाधि जिताउन भण्डारीले दोहोरो ह्याट्रिक सहित ७ गोल गरे । अर्को गोल प्रज्वल बस्नेतले गरे । प्रतियोगिताभर १२ गोल गरेका भण्डारीले सेमिफाइनलमा नेपाल फोटो पत्रकार संघ सुनसरी बिरुद्ध पनि ह्याट्रिक सहित ५ गोल गरेका थिए । 

    प्रेस चौतारी नेपाल सुनसरीको टिम नआएपछि इटहरी जेसिजले वाक ओभर पाएर सिधै सेमिफाइनल खेलको थियो । क्वाटर फाइनलमा नेपाल टेलिभिजन इटहरीलाई पराजित गरेको प्रेस सेन्टर सुनसरीले सेमिफाइनलमा आयोजक प्रेस युनियनलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । ग्रामीण पत्रकार समाज वराहक्षेत्र सुनसरी नआएपछि प्रेस युनियन सुनसरीले वाक ओभर पाएर सिधै सेमिफाइनल खेलेको थियो । 

      विजेता तथा उप-विजेतालाई समापन कार्यक्रमका प्रमुख अतिथि खेलकुद विकास समिति सुनसरीका अध्यक्ष दीपक राई, पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्का, प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष धनबहादुर पुरी, सुनसरी जिल्ला फुटबल सङ्घका महासचिव कोबिदजंग कार्की लगायतले पुरस्कार वितरण गरे । 

      यसअघि कार्यक्रमको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष जीनाजंग कार्की र विशिष्ट अतिथि मीनकुमार नवोदित श्रेष्ठले उद्घाटन गरेका थिए ।

प्रेस युनियन सुनसरीलाई चलायमान बनाउँदै विभिन्न गतिविधिमा सक्रियता जनाउँदै खेलकुद कार्यक्रम अन्तर्गत फुटसल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष ध्रुव ढकालले बताए । कोशी प्रदेश खेलकुद विकास बोर्डका सहयोग गरिएको प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने ढकालले बताए ।