सुनसरी । कोसी प्रदेश खेलकुद विकास बोर्डले काठमण्डौमा सम्पन्न १३ औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेको छ ।
गत वैशाखमा सम्पन्न १३ औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने कोसी प्रदेशका पदक विजेता खेलाडीलाई बोर्डले इटहरीमा आइतबार कार्यक्रम गरी नगद सहित सम्मान गरेको हो ।
बोर्डले स्वर्ण पदक प्राप्त गर्ने ७ जना, रजत प्राप्त गर्ने ४ र काश्य पदक जित्ने २८ जना गरी २९ जना खेलाडीलाई नगद सहित सम्मान गरेको हो । 
       सम्मानित हुनेमा एथलेटिक्सको त्रिपल जम्पमा स्वर्ण पदक प्राप्त गरेका झापाका राजीव ढुङ्गाना, उसुमा मोरङका एलिस मरिक, तेक्वान्दोमा सुनसरीका सुसन थापा र करातेमा स्वर्ण पदक विजेता खेलाडीहरू खोटाङका दीपेश राई, सूर्यचन्द्र राई, धनकुटाका अङ्कित राई, र सुनसरीकी सृजना खुलाल रहेका छन् । स्वर्ण पदक खेलाडीलाई नगद १५ हजार, रजतलाई १० हजार र काश्य पदक खेलाडीलाई ५ हजार नगद सहित सम्मान गरिएको हो । 

samman 2
   यस्तै ७ जना प्रशिक्षक र ५ जना व्यवस्थापकलाई पनि नगद ५ हजार सहित सम्मान गरिएको बोर्डका सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिए ।
यस्तै बोर्डले यसैबर्ष विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने कोसी प्रदेशका खेलाडीहरू, प्रशिक्षक र निर्णायकलाई पनि नगद सहित सम्मान गरेको छ ।
सम्मानित हुनेमा मालदिभ्समा सम्पन्न १३ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडी झापाका ललित धिमाल, काठमाण्डौमा सम्पन्न तेस्रो दक्षिण एसियन योगा खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने झापाकी स्वेच्छा थापा, मलेसियामा सम्पन्न एसीसी मेन्स अन्डर १६ इस्ट जोन क्रिकेटमा स्वर्ण जित्ने मोरङका कृतिक कामत र मलेसियामै सम्पन्न २२ औँ  मिलोअल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप सीपमा स्वर्ण जित्ने सुनसरीका अशेष मगर रहेका छन् ।
धिमाललाई नगद २५ हजार र अन्यलाई जनही १५ हजार नगद सहित सम्मान गरिएको हो ।
dilip dai

बोर्डले वरिष्ठ फुटबलकर्मी दिलीप राईलाई नगद ५० हजार र फिफा असिस्टेन्ट रेफ्री किरण गिरीलाई नगद १५ हजार सहित सम्मान गरेको छ ।