सुनसरी । इटहरीमा बुधवारदेखि प्रथम अन्तरबिद्यालय फुटसल प्रतियोगिता हुने भएको छ ।
सुनसरीको झुम्कामा रहेको अल स्पोर्टस कलेक्सनको आयोजनामा दुई दिनसम्म हुने प्रतियोगितामा सुनसरीका २६ वटा विद्यालयको सहभागिता रहने मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
फुटसलका विभिन्न प्रतियोगिता आयोजना गरिए पनि बिद्यालयस्तरको प्रतियोगिता नभइरहेको अवस्थामा सुनसरीमै पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक अल स्पोर्टसका प्रमुख विमल मगरले जानकारी दिए । बालबालिकाका खेल सम्बन्धि कौशललाई विकास गर्ने उद्देश्य राखी “स्वास्थ्यका लागि खेलकुद“ भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छ । उपविजेताले नगद १५ हजार सहित शिल्ड र प्रमाणपत्र पाउने मगरले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय पाउने र अन्य विधागत क्षेत्रका उत्कृष्ट हुनेहरूले जनही १ हजार ५ सय र टफी पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्न कूल गर्न २ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको मगरले जानकारी दिए । बालबालिकाका फरक रुचि अनुसारका विभिन्न खेलकुदमा सुरुदेखि नै अभिरुचि जगाउँदै अगाडि लैजानका लागि पनि प्रतियोगिता आयोजना गरिएकोले अधिकांश विद्यालयले सहभागिता जनाएको आयोजकको दाबी छ । सुनसरीमा पहिलो पटक हुन लागेको अन्तरबिद्यालय फुटसल प्रतियोगिता आगामी वर्षदेखि अन्य जिल्लाका बिद्यालयहरुलाई समेत सहभागी गराइ बृहत् रूपमा आयोजना गरिने बताइएको छ । प्रतियोगितालाई युनाइटेड फुटबल क्लब हङकङको पनि सहयोग रहेको जानकारी गराइएको छ ।