सुनसरी । इटहरीमा बुधवार देखी सुरु प्रथम अन्तरबिद्यालय फुटसल प्रतियोगिताको उपाधि तरहराको हिमशिखर स्कुलले जितेको छ ।
सुनसरीको झुम्कामा रहेको अल स्पोर्टस कलेक्सनको आयोजनामा बिहीबार सम्पन्न फाइनल खेलमा हिमशिखरले वराहक्षेत्र नडाहको स्काई बोर्डिङ स्कुललाई ७-० को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि विजेता हिमशिखरले नगद २५ हजार पाएको छ । उपबिजेता स्काई स्कुलले नगद १५ हजार पाएको छ ।  प्रतियोगिताको उत्कृष्ट खेलाडी हिमशिखरका सलोन जिमी भए । उनले नगद २ हजार ५ सय पाए । उत्कृष्ट गोलकिपर हिमशिखरकै प्रतीक राई घोषित, सर्वाधिक गोलकर्ता  हिमशिखरकै करण राई घोषित भए । यस्तै म्यान अफद फाइनल स्काई स्कुलका यसराज बिक घोषित भए । उनीहरूले जनही १ हजार ५ सय र टफी पाए ।
himsikhar
जनता क्याम्पस इटहरीका सञ्चालक समितिका अध्यक्ष विकास केसीले बुधवार उद्घाटन गरेको प्रतियोगिताका विजेता तथा उपबिजेता टिमलाई इटहरी ९ नम्बरका वडा अध्यक्ष जितेन थापाले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा सुनसरीका २६ विद्यालयको सहभागिता रहेको आयोजक अल स्पोर्टस कलेक्सनका सञ्चालक विमल मगरले बताए । बालबालिकाका फरक रुचि अनुसारका विभिन्न खेलकुदमा सुरुदेखि नै अभिरुचि जगाउँदै अगाडि लैजानका लागि पनि यस पटक प्रतियोगिता आयोजना गरिएकोले अधिकांश विद्यालयले सहभागिता जनाएको आयोजकको दाबी छ ।
सुनसरीमा पहिलो पटक आयोजना गरिएको अन्तरबिद्यालय फुटसल प्रतियोगिता आगामी वर्षदेखि अन्य जिल्लाका बिद्यालयहरुलाई समेत सहभागी गराइ बृहत् रूपमा आयोजना गरिने बताइएको छ ।
प्रतियोगितालाई युनाइटेड फुटबल क्लब हङकङको पनि सहयोग रहेको थियो ।