धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ बेँगाडवरस्थित सार्वजनिक मा.बि.मुख्यद्धारमा एक जना पाले हातमा लौरो सहित सलाम ठोक्दै थिए । आइतबार गेटबाट विद्यालयमा प्रवेश गर्दै गर्दा उनको यो स्वागतले विद्यालयको पहिचान दिन्थ्यो । सिन्धुलीका कुलनारायण आचार्यको  स्वागतले विद्यालय निक्कै अब्बल हो कि भन्ने आभास हुन्थ्यो ।   
विद्यालयको मुख्यद्धारमा नै लेखिएको थियो नमुना माध्यमिक विद्यालय । बाहिरबाट हेर्दा जति सुन्दर थियो भित्र प्रवेश गर्दै गर्दाका केही दृश्यले विद्यालयलाई गिज्याई रहेको थियो ।   विद्यालयलाई केही व्यवस्थित गर्न खोजिएको भए पनि त्यो पर्याप्त थिएन । विद्यालय परिसरको दक्षिण तर्फको भागमा रहेको टिनको छानोमा  कक्षा कोठा भित्र  विद्यार्थी पढ्दै थिए भनेँ बाहिरी भागमा साइकल पार्किङले भरिएको थियो ।  चौरको बिच भागमा केही शिक्षकहरू  थोरै विद्यार्थी लिएर समूहमा पढाउँदै थिए ।  हेर्दा लाग्थ्यो कुनै आन्तरिक तयारी हुँदै छ । 
नजिकै पुगेपछि थाहा भयो, प्रावि. शिक्षक गीता कुमारी खड्का कक्षा ११ का ४ जना विद्यार्थीलाई  पढाउँदै रहिछन् । कक्षा ११ को ऐच्छिक नेपाली विषय लिएर पढ्ने १० जना विद्यार्थी मध्ये  अरू विद्यार्थी नआएपछि ४ जनालाई मात्र पढाएको उनले बताइन् ।   अरू विद्यार्थी नियमित  कक्षामा उपस्थित नहुने र भएका विद्यार्थीलाई बाहिरै भए पनि कक्षा लिने गरेको खड्काको भनाई छ ।  उनले बाहिर चौरमा पढाउनु पर्ने बाध्यता सुनाउँदै भनिन्, सबै कक्षा कोठाहरू खाली नभएको कारण खाली घण्टीमा विद्यार्थीलाई त्यसै राख्न भन्दा बाहिरै भए पनि पढाएको हुँ ।’  कक्षा कोठा थोरै हुँदा विद्यार्थीले बाहिर बसेर  पढ्नु परेको शिक्षक खड्काले बताइन्  ।  पाँचौँ घण्टीका सामाजिक शिक्षक  दिलीप महतो नआएपछि उनले आफ्नो छैटौँ घण्टीको कक्षालाई पाँचौँमा नै पढाएको बताइन्  । DSCN9519
उनी मात्र बाहिर बसेर पढाउनेमा थिईनन् । उनको नजिकै अरू दुई शिक्षक पनि  विद्यार्थीलाई विद्यालय चौरको रुखमुनि राखेर पढाउँदै थिए । अङ्ग्रेजी शिक्षक चूडामणि बराल  कक्षा १२ को ऐच्छिक अङ्ग्रेजी लिएर बढ्दै गरेका एक मात्र विद्यार्थी आयुष लामालाई पढाउँदै थिए । रुखको छायाँ खोज्दै बसेर पढाएका उनले पनि कक्षाकोठा खाली नभएको कारण बाहिरै राखेर पढाउनु परेको सुनाए । कक्षा १२ को ऐच्छिक अङ्ग्रेजी पढ्ने ४ जना विद्यार्थी हुन्, दुई जना नियमित पढ्न आउने गरेको भए पनि आइतबार एक जना मात्र विद्यार्थी थिए । एक जना मात्र विद्यार्थी आए पनि पढाउनु आफ्नो दायित्व भएकोले नियमित कक्षा लिने गरेको शिक्षक बरालले बताए । 
शीतल खोज्दै विद्यालयको भवनमा आड लागेर ऐच्छिक गणित विषय बढाउँदै थिए शिक्षक धनुषधारी सिंह ।  उनले यसरी चौरमा पढाउन थालेको ३ महिना पुग्यो । गत साउन १७ गतेदेखि उनी यसै गरी कहिले चौरमा पढाएका भेटिन्छन् भनेँ कहिले विद्यालयले विविध कार्यक्रमको लागि बनाएको मञ्चमा डेस्क बेन्च राखेर पढाएका हुन्छन्  । ‘सोमबार भनेँ उनी मञ्चमा घाम भएपछि  छायाँ खोज्दै विद्यालय भवनका बाहिरी चौरमा पठाउँदै थिए ।  गणित विषय बाहिर पढाउन निक्कै गाह्रो हुन्छ, उनले भने, कक्षा कोठामा ठाउँ नै नभएपछि विद्यार्थीलाई पढाउन त पर्‍यो नि ।’ कक्षा १० मा ऐच्छिक  गणित विषय पढ्ने ४ जना मध्ये उनी ३ जना विद्यार्थीलाई पढाउँदै थिए । उनीसँगै पढ्दै गरेकी विद्यार्थी मधु सिंहले  बोर्डमा लेखेर पढाउनु पर्ने विषय बाहिर पढाउँदा बुझ्न निक्कै गाह्रो हुने गरेको बताइन् । ‘हामीलाई बोर्डमा ‘लेख्दै मेट्दै ’ बुझाएर पढाएको जस्तो यसरी बाहिर पढाएकोले बुझ्न निक्कै गाह्रो हुन्छ, उनले भनिन्,  कापीको पाना च्यातेर सरले कति दिनसम्म यसरी पढाउनु पर्ने हो खै थाहै छैन ।’ school (2)
यी समस्या एउटा  विद्यार्थी र शिक्षकको भन्दा पनि समग्र विद्यालयकै समस्याको रूपमा हुनु पर्नेमा विद्यालय प्रशासनले यो विषयलाई समस्याको रूपमा लिएको छैन । समस्याको समाधानकालागि कक्षा ११ र १२ लाई बिहान र अरू कक्षालाई दिउँसो गर्न सकिने भए पनि त्यो बारेमा खासै कसैले ध्यान नदिएको शिक्षक खड्काले बताइन् ।
शिक्षकहरूले दिएको यस्तो सुझाव विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले स्वीकार गरेको छैन ।  विद्यालयमा अहिले पनि १३ वटा कक्षा कोठा सुचारु रहेको छ । विद्यालयका प्रधानाध्यापक विश्वनाथ महतोले  बिहान र दिउँसोको कक्षा छुट्याउँदा अतिरिक्त सुविधा दिनु पर्ने भएकोले  कक्षा ११  र १२ को कक्षालाई पनि दिउँसो नै चलाएको बताए ।
  
कक्षा ११ र १२ मा कृषि, शिक्षा र वाणिज्य पढाई हुँदै आएको यस विद्यालय आर्थिक अभावकै कारण कक्षा कोठा नभएको भनेँ हैन  ।  नमुना विद्यालय स्वीकृत भएको ४ वर्ष बितिसक्दा एउटा भौतिक संरचना समेत निर्माण पुरा भएको छैन । नमुना विद्यालयमा परेका सामुदायिक विद्यालयले  सरकारले तोकेको निर्देशिका अनुसार काम गर्नु पर्ने हुन्छ   मापदण्ड अनुसार काम  नभएको आरोप शिक्षकहरूले नै लगाएका छन् । विद्यालयमा कक्षा १२ सम्म ९२० जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । 
school (1)
विद्यालयको प्रशस्त आम्दानी
आर्थिक अभावको कारण धेरै विद्यालयहरू उठ्न सकेका छैनन्  । टिन फेर्न समेत समस्या हुँदा चुहुने छानोमुनि राखेर पढाएको उदाहरणहरू प्रशस्त रहेको भए पनि यस सार्वजनिक मावि आर्थिक अवस्था कमजोर भनेँ छैन । हरेक वर्ष नमुना विद्यालय अन्तरगत १ करोड  ५० लाख प्राप्त गर्दै आएको छ । सङ्घीय सरकारको विशेष शिक्षा अनुदान मध्येबाट ३४ करोडको सिपिआर मध्ये ३ करोड अनुदान प्राप्त भइसकेको विद्यालयले जनाएको छ । विद्यालयका प्र अ महतोका अनुसार, ‘विद्यालयको  जग्गामा लाग्ने हाटबजारबाट वार्षिक १४ लाख आम्दानी हुँदै आएको छ । विशेष अनुदान ५० लाख र जग्गा भाडा बापतको आम्दानी १ लाख ५० हजार प्राप्त हुने गरेको छ।’ नमुना विद्यालय सञ्चालन अनुदान वार्षिक १ करोड ५० लाख निरन्तर आइरहेको उनले बताए । आर्थिक वर्ष २०७६।०७७ बाट सुरु भएको नमुना विद्यालय सञ्चालन अनुदान अनुसार पछिल्लो ३ वर्षमा १ करोड ५० लाखको दरले ४ करोड ५० लाख प्राप्त गरिसकेको छ। अहिले चौथो वर्षको समेत कार्यक्रमबाट १ करोड ३० लाख प्राप्त भएको विद्यालयले जनाएको छ ।  
जसरी वार्षिक करोडौँ बजेट प्राप्त भएको छ त्यसको अनुपातमा विद्यालय सुधारकोलागि कामै नभएको विद्यालय व्यवस्थापन समितिका सदस्यले आरोप लगाउँदै आएका छन् । ‘यो वर्ष एकै पटक ३ वटा भवन बन्दै गरेको छ, विद्यालयका प्रधानाध्यापक महतोले भने,  विशेष शिक्षा अन्तरगतको भवन निर्माण भएको छ,  नमुना विद्यालय अन्तरगत छात्रावास र शैक्षिक भवन निर्माणको अन्तिम चरणमा पुगेको छ।’ अहिले निर्माणको अन्तिम चरणमा पुगेको १३ कोठे भवन सम्पन्न हुने बित्तिकै कक्षा कोठाको अभाव नहुने र चौरमा राखेर पढाउनु पर्ने बाध्यताको अन्त्य हुने प्र अ महतोले बताए ।DSCN9542
नमुना विद्यालय सञ्चालन कार्यक्रम अन्तरगत सञ्चालित यस्ता कार्यक्रम धेरै विद्यालयमा छन्  । सङ्घीय सरकारले नमुना विद्यालय सञ्चालन कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७३।०७४ देखि गत आर्थिक वर्ष २०७९।०८० को अन्त्यसम्ममा २२ अर्ब ५८ करोड खर्च गरिसकेको छ। सोही शीर्षकमा चालु आर्थिक बर्षकोलागि ३ अर्ब ६० करोड ५० लाख विनियोजन भएको छ । अहिले देशभर ४२२ नमुना विद्यालय सरकारको यो योजनामा समाहित छन्  । ती मध्ये दुई सय विद्यालयमा कार्यक्रम सम्पन्न भइसकेको छ भनेँ  २२२ विद्यालयमा नमुना विद्यालय कार्यक्रम सञ्चालनमा रहेको सङ्घीय सरकार शिक्षा मन्त्रालयको तथ्याङ्कमा देखिन्छ ।