सुनसरी । इटहरीमा सम्पन्न कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि हिमालयन बैङ्कले जितेको छ ।
इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा शनिवार सम्पन्न फाइनलमा युवा उद्यमी मञ्च सुनसरीलाई ३ विकेटले पराजित गर्दै हिमालयन बैङ्कले उपाधि जितेको हो ।
उपाधिसँगै हिमालयनले नगद २५ हजार र शिल्ड हात पारेको छ । उपबिजेता भएको युवा उद्यमी मञ्चले नगद १५ हजार रुपैयाँ पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको युवा उद्यमी मञ्चले निर्धारित ६ ओभरको खेलमा २ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । उसका लागि मिसन पराजुलीले सर्वाधिक ३० रन बनाउँदा अङ्कित अग्रवालले २९ र गौरव भण्डारीले १८ रन जोडे । अघिल्ला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कप्तान सुमित थापाले ८ रन मात्र बनाउन सके ।
८९ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको हिमालयन बैङ्कले ५ दशमलव १ बलमा ३ विकेट गुमाउँदै जीत हात पार्‍यो । हिमालयनका लागि उज्ज्वल प्रताप केसीले ३३ रन बनाउँदा तेजकुमार आचार्यले ३२ रन जोडे । म्यान अफ द फाइनल गौरव नेपालले ११ रन जोडे ।
champion
प्रतियोगिता अवधिभर ४ विकेट लिँदै ७३ रन जोडेका हिमालयन बैकका तेजकुमार र प्रतियोगिता अवधिभर ९० रन बनाएका युवा उद्यमी मञ्चका मिसन पराजुली संयुक्तरुपमा सर्वोत्कृष्ट खेलाडी बने ।
हिमालयन बैङ्कका कप्तान विभूति अर्याल उत्कृष्ट बलर घोषित भए ।
जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता तथा उपबिजेतालाई कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ कोसी प्रदेशका उपाध्यक्ष भीम पौडेल, होटेल व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष देबी गौतम रबिन, होटेल व्यवसायी सङ्घ सुनसरी अध्यक्ष तेजबहादुर पुरी, क्यान सुनसरी अध्यक्ष सिपी पौडेल लगायतले पुरस्कार प्रदान गरे ।
खेलकुद सँगै स्वास्थ्य र पर्यटन’ नारा दिइएको प्रतियोगिताको रोटरी क्लब अफ इटहरी युगल सहआयोजक रहेको थियो ।
आरती स्ट्रीप्स प्रालिले मुख्य प्रायोजक गरेको प्रतियोगिताको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले सह प्रायोजन गरेको थियो । शुक्रवार र शनिवार दुई दिनसम्म चलेको प्रतियोगितामा विभिन्न १६ टिमको सहभागिता रहेको थियो ।