सुनसरी । सशस्त्र प्रहरी बलको एपीएफ क्लब बराह बाहिनी पकली सुनसरीको इटहरीमा जारी प्रथम अल्टिच्युड रनिङ कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
बुधवार इटहरी १९ स्थित बरमपुर खेल मैदानमा भएको पहिलो क्वाटर फाइनल खेलमा एपीएफले पञ्चायन फुटबल क्लब रामधुनीलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
एपीएफको संघर्षपूणर् जीतमा धनबहादुर श्रेष्ठ, हरि कार्की र बुद्धिमान राईले एक एक गोल गरे । पञ्चायनका तर्फबाट सौजन राई र पूजन चौधरीले गोल फर्काए ।
        खेलको १६ औँ मिनेटमा सौजनको गोलबाट अग्रता लिएको पञ्चायन क्लबले त्यसको दुई मिनेट नबित्दै गोल खान पुगेको थियो । १८ औँ मिनेटमा एपीएफका धनबहादुरले गोल फर्काउँदै खेललाई एक एकको बराबरीमा ल्याए । २१ औँ मिनेटमा हरीले गोल गर्दै एपीएफलाई २-१ को स्थितिमा पुर्‍याए । खेलको ३० औँ मिनेटमा बुद्धिमानले गोल गरेपछि पहिलो हाफमा एपीएफले ३-१ ले अग्रता कायम गर्‍यो । 
     पहिलो हाफको तुलनामा दोस्रो हाफमा एपीएफ माथि दबाब बढाएको पञ्चायनको तर्फबाट पुजनले खेलको ४९ औँ मिनेट गोल गरे पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन । खेलको म्यान द म्याच एपीएफका बुद्धिमान राई घोषित हुँदै नगद २ हजार पाँच सय रुपैयाँ हात पारे । यसअघि एपीएफले प्रिक्वाटरफाइनल खेलमा पानबारी फुटबल क्लब धरानलाई पराजित गरेको थियो ।
      प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो सेमिफाइनल खेल आयोजक अल्टिच्युड क्लब इटहरी र सप्तकोसी फुटबल क्लब वराहक्षेत्र बिच हुने क्लबका अध्यक्ष पीताम्बर तिम्सिनाले जानकारी दिए । यसअघि आयोजकले गत शुक्रवार भएको उद्घाटन खेलमा कोसी प्रदेश प्रहरी टिम विराटनगरलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । सप्तकोसीले मङ्गलवार भएको क्वाटर फाइनलमा चित्लाङ फुटबल क्लब काठमाण्डौलाई पराजित गरेको थियो । 
     कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले एक लाख रुपैयाँ हात पार्नेछ । प्रतियोगितामा काठमाण्डौका दुई सहित १० टिमको सहभागिता रहेको छ ।