सुनसरी । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला नयाँ स्वरूप पाएको इटहरी रङ्गशाला सम्बन्धित निकायको बेवास्ताले जीर्ण बन्दै गएको छ ।
सातौँ राष्ट्रिय खेलकुदको सफल आयोजनापछि इटहरी रङ्गशालालाई स्पोर्ट्स कम्प्लेक्समा परिणत गर्न राष्ट्रिय खेलकुद परिषद्ले ३७ करोड रुपैयाँभन्दा बढी लगानी गरे पनि यसको अझै संरक्षण हुन सकेको छैन ।
रङ्गशाला संरक्षणमा तीनै तहका सरकारबिच समन्वय नहुँदा रङ्गशाला जीर्ण बन्ने अवस्थामा पुगेको छ ।
४ हजार दर्शक क्षमताको भिआइपी प्याराफिट सहित विभिन्न एक दर्जन खेल एकैपटक सञ्चालन गर्न सकिने इटहरी रङ्गशालालाई पूर्वको सपनाको रूपमा परिभाषित गरिएको थियो । तर अहिलेसम्म पनि स्वामित्व हस्तान्तरणमा राष्ट्रिय खेलकुद परिषद्ले चासो नदेखाउँदा रङ्गशाला अलपत्र बनेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले रङ्गशालामा कुनैपनि संरचना बनाउँदा प्रक्रियागतरुपमा नबनाइएकाले कतिपय संरचना अहिले पनि अधुरै रहेको बताए । इटहरी रङ्गशाला परिसरमा निर्माण गरिएको ब्याडमिन्टन कोर्ट भवन बाहेक अन्य कुनै पनि संरचनाको शतप्रतिशत निर्माण कार्य नसकिएको जानकारी दिए । तत्कालीन समयमा अंशगतरुपमा खरिद प्रक्रिया नगरिएकाले अहिले समस्या आएको बताए । यद्यपि अब बस्ने राखेपको बोर्ड बैठकले यसबारे निर्णय लिने घिसिङको भनाई छ ।
राखेपका तत्कालीन सदस्य सचिव केशवकुमार विष्टले रङ्गशालामा तेक्वान्दो भवन, ब्याडमिन्टन कोर्ट, भलिबल एकेडेमी, उसु, कराँते भवन, टेबल टेनिस लगायत खेलका पूर्वाधार बनाउन बजेट उपलब्ध गराएका थिए ।
आठ बिघा क्षेत्रफलमा फैलिएको रङ्गशालालाई स्पोर्ट्स कम्प्लेक्समा परिणत गर्न विष्टले गृहनगर इटहरीमा खेलकुदका संरचनाको निर्माणलाई प्राथमिकता दिएका थिए । तर त्यसयताका सदस्यसचिवले रङ्गशाला निर्माणको कामनै त्रृटिगत रहेको भन्दै स्तर उन्नति गर्न चासो नदेखाउँदा जीर्ण बन्दै गएको हो ।