सुनसरी । इटहरी उपमहानगरपालिका पहिलो अन्तर नगर स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा मङ्गलवार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा दुहबी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै इटहरीले सेमिफाइनल यात्रा तय गरेको हो ।
इटहरीका लागि समीर राई र अभिषेक कालिकोटेले एक एक गोल गरे । समीरले खेलको १३ औँ मिनेटमा गोल गर्दा अभिषेकले १९ औँ मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफद म्याच इटहरीका सुमित चौधरी घोषित भए । उनलाई मङ्गलवारको खेलको प्रमुख अतिथि कोसी प्रदेश फुटबल सङ्घका उपाध्यक्ष शिव न्यौपानेले नगद २ हजार १ सय रुपैयाँ प्रदान गरे ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधवार धरान उपमहानगरपालिका र बेलबारी नगरपालिकाबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक दिपेन तामाङले जानकारी दिए ।
धरान उपमहानगरले उद्घाटन खेलमा सुन्दरहरैचा नगरपालिकालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको भने बेलबारीले इनरुवा नगरपालिकालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
यस्तै बिहीबार हुने अन्तिम सेमिफाइनलमा दमक नगरपालिका र इटहरी उपमहानगरबिच खेल हुने आयोजक इटहरी फुटबल क्लबले जनाएको छ । यसअघि दमकले वराहक्षेत्र नगरपालिकालाई पराजित गर्दै सेमिफाइनल खेल्न लागेको हो ।
शनिवार हुने फाइनल खेलको विजेताले नगद १ लाख रुपैयाँ र उपबिजेताले ५० हजार रुपैयाँ पाउने आयोजक क्लबका सचिव माधव कार्कीले जानकारी दिए ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीका विभिन्न ८ वटा पालिकाहरूको सहभागिता रहेको छ ।