सुनसरी । निर्माण प्रक्रियामै त्रुटि भएको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले इटहरी रङ्गशालाको भिआइपी प्याराफिट जिम्मा लिन नमान्दा बेवारिसे बनेको छ ।
२०७६ वैशाख ७ गते शिलान्यास भएको ४ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय भिआइपी प्याराफिटको काम शिलान्यास भएको आठ महिनापछि सुरु भएको थियो ।
तत्कालीन सदस्यसचिव केशवकुमार विष्टले शिलान्यास गरेको प्याराफिट एक बर्सभित्रमा निर्माण सक्ने बताइए पनि कोरोना महामारीका कारण २ वर्ष ढिला गरी निर्माण भएको थियो ।
प्याराफिटको स्वामित्व राष्ट्रिय खेलकुद परिषद्ले लिन अस्वीकार गरेपछि ठेकेदारले हस्तान्तरण गर्न सकेको छैन ।
२२ करोडको लागतमा निर्माण गरिएको प्याराफिट राखेप र ठेकेदार पक्षबिचको असन्तुष्टिले हस्तान्तरण नहुँदा प्याराफिटको बस्ने सिट तथा नट बल्टु खुस्किन थालेका छन् ।
मलेसियन र नेपाली ठेकेदारले संयुक्तरुपमा निर्माण गरेको उक्त प्याराफिटको फ्रान्स र मलेसियन प्राविधिकले काम गरेका थिए भने बाँकी जडान नेपाली कामदारले गरेका थिए ।
तीन तले प्याराफिटको पछाडि खेलाडीका लागि भिआइपी लाउञ्ज, चेञ्जिङ रुम, पोस्ट म्याच कन्फ्रेन्स लगायतका सुविधा सम्पन्न कोठाहरू रहेका छन् ।