सुनसरी । इटहरी उपमहानगरपालिकाले पहिलो अन्तर नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार सम्पन्न फाइनलमा धरान उपमहानगरलाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि जितेको हो ।
उपाधिसँगै इटहरीले नगद १ लाख रुपैयाँ जितेको छ । उपबिजाते धरानले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
निर्धारित समयमा दुवै टिमबाट गोल नभए पनि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको थियो ।
पेनाल्टीमा घरेलु टिम इटहरीको तर्फबाट सन्तोष दाहाल, सुमित चौधरी, हरि कार्की र योगेन्द्र कार्कीले गोल गर्दा कप्तान प्रवेश दनुवारको प्रहार बाहिरिएको थियो ।
धरानको तर्फबाट आमोस लिम्बु, अजय विष्ट र अनिस राईले मात्र गोल गरे । इन्सन राईको प्रहार इटहरीका गोलकिपर निरज चौधरीले बचाउन गरेको थिए भने आशुतोष राईको प्रहार बाहिरिँदा इटहरीले उपाधि जित्न सकेको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी इटहरी उपमहानगरपालिकाका प्रवेश दनुवार घोषित भए । इटहरीका निरज चौधरी म्यानअफद फाइनलसँगै उत्कृष्ट गोलकिपर, योगेन्द्र कार्की उत्कृष्ट मिडफिल्डर, समीर राई उत्कृष्ट फरवार्ड र विमल मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । धरान उपमहानगरका आमोस लिम्बु उत्कृष्ट डिफेन्डर घोषित भए ।
इटहरी फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका विभिन्न ८ वटा पालिकाहरूको सहभागिता रहेको थियो ।