इटहरी । फोहोर मैला व्यवस्थापनमा इटहरी उपमहानगरपालिकाले निकै ठुलो फड्को मारेको छ । सहरमा उत्पादन भएको फोहोर खाल्डा खुल्डीमा फाल्नुपर्ने, चारेकोशे जङ्गल तथा सामुदायिक बनमा फाल्नुपर्ने अवस्था देखी अहिले आफ्नै प्रशोधन केन्द्रबाट ग्याँस र प्राङगारिक मल उत्पादन सम्म आई पुगेको छ ।
फोहोर व्यवस्थापनको काम सुरु भएको पछिल्लो १० वर्ष पछि फोहोरबाट ग्याँस र प्राङगारिक मल उत्पादन सुरु भएको छ ।
इटहरी उपमहानगरपालिका वडा न. १० मा फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । प्रशोधन केन्द्रले प्लान्ट निर्माण सम्पन्न गरी सन् २०२२ मे ७ बाट ग्याँस उत्पादन परीक्षण सुरु गरेको वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लिका सञ्चालक मानध्वज मोक्तानले जानकारी दिए ।
परिक्षणकाल अवधिमा एक सय सिलिन्डर ग्याँस उत्पादन गरी विक्री गरिएको कम्पनीले जनाएको छ । उत्पादन भएको ग्याँस सुनसरीकै निमुवामा रहेको जानकी ट्याङ्की उद्योगलाई विक्री गरिएको कम्पनीका सञ्चालक मोक्तानले जानकारी दिए ।
कम्पनीले अब भने केही प्राविधिक पक्षलाई व्यवस्थापन गर्दै व्यवसायीक रूपमा ग्याँस र मल उत्पादन गर्न सक्षम भएको बताएको छ ।
ग्याँस र मलको उत्पादन तथा विक्री गरी राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको इन्भारो कम्पनीका सञ्चालक मोक्तानको विश्वास छ ।
कति ग्याँस उत्पादन हुन्छ र कहाँ खपत हुन्छ ?
आयोजनाको डिपीआर अनुसार साढे १३ करोड लाग्ने अनुमान थियो । तर ग्यास उत्पादनको अवस्था सम्म आइपुग्दा करिब २१ करोड लगानी भएको इन्भारो म्यानेजमेन्ट कम्पनीले जनाएको छ ।
योजनाको डिपीआर अनुसार स्थापना भएको प्लान्टबाट दैनिक ३० टन कुहिने फोहोर प्रशोधन गरी ८ टन ग्याँस र ६ टन प्राङ्गारिक मल उत्पादन गर्न सकिन्छ ।
कुहिने फोहोरबाट ग्याँस र मल उत्पादन गर्न २ करोड ७० लाखको लागतमा डाईजेस्टर निर्माण गरिएको छ । सो डाईजेस्टरमा ग्याँस र मल उत्पादन गर्न दैनिक ३० टन कच्चा पदार्थ(कुहिने फोहोर) आवश्यक पर्छ ।
उत्पादन भएको ग्याँस सिलिन्डर मार्फत विक्री गर्न सकिने कम्पनीले जनाएको छ । उत्पादन भएको ग्याँसलाई बजारको कुनै समस्या छैन।
सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरूले सहजै खरिद गरिदिने वेस्ट एण्ड इन्भारो कम्पनीका सञ्चालक मानध्वज मोक्तान बताउँछन् ।
कम्पनीले पनि उत्पादन भएको ग्याँसलाई औद्योगिक क्षेत्रलाई नै टार्गेट गरी विक्री गर्ने योजना बनाएको छ ।
परीक्षण कालमा उत्पादन भएको ग्याँस पनि आद्यौगिक कोरिडोरकै जानकी ट्याङ्की उद्योगले खरिद गरिदिएको थियो ।
१० वर्षको प्रयास पछिको उपलब्धि
ल्याण्डफिल्ड साईड सञ्चालनमा आएपछि फोहोर मैला व्यवस्थापन सहज मात्र भएको छैन, सडकमा जथाभाबी देखिने फोहोर समेत हटेको छ ।
इटहरीका मुख्य चौक, सडक तथा भित्री सडकहरू समेत सफा देखिन थालेका छन् । दैनिक नियमित रूपमा फोहोर सङ्कलन र व्यवस्थापन हुन थालेपछि इटहरी सफा देखिन थालेको हो ।
अहिले फोहोर व्यवस्थापनमा कुनै समस्या भोग्नु नपरेको इटहरी उपमहानगरपालिका वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले बताए । पहिले जस्तो दुःख नभएको उनले बताए । निजी क्षेत्रलाई दिए पछि फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा सामुदायिक बनमा फाल्नुपर्ने बाध्यता पनि हटेको चौधरीले बताए ।
इटहरीको फोहोर मैला व्यवस्थापन अर्को चरणमा पुगेको वातावरण शाखा प्रमुख चौधरीको भनाई छ । अब भने उद्देश्य अनुसार फोहोरबाट मोहर बनाउने अवस्था सम्म आई पुगेको उनले बताए ।
यो अवस्था सम्म आइपुग्न १० वर्ष लागेको छ । फोहोर व्यवस्थापन टाउको दुखाई बने पछि इटहरी उपमहानगरपालिकाले वि.स २०७० साल देखी व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको थियो ।
सङ्कलन भएको फोहोर फाल्ने ठाउँ नहुँदा ठुलो समस्या हुने गरेको थियो । इटहरी उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँ उपलब्ध गराउन नसक्दा सहरका खाल्डा खुल्डीमा फाल्नुपर्ने अवस्था थियो ।
विरोध आउन थालेपछि चारकोशे जङ्गल तथा सामुदायिक बनमा लगेर फाल्ने गरिएको थियो । जङ्गलमा फालिएको फोहोरमा आगो लाग्दा निस्किएको धुवाँले इटहरीको भवानीपुर क्षेत्रका स्थानीयहरूले स्वास्थ्य समस्या भोग्नु परेको थियो । आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको थियो ।
विशेष गरी दम र श्वासप्रश्वास सम्बन्धी रोग भएका बिरामीलाई ठुलो समस्या हुने गरेको थियो ।
इटहरीले जङ्गलमा फोहोर फाल्न छाडे पनि धरान उपमहानगरपालिकाले फोहोर फाल्न नछाडेको भवानीपुरका स्थानीय कुमार चौलागाँईले बताए ।
इटहरीले फोहोर फाल्न छाडे पनि धरानको फोहोरका कारण समस्या भने उस्तै रहेको चौलागाँई बताउँछन् । पटक पटक आग्रह गर्दा पनि धरान उपमहानगरले फोहोर फाल्न नछाडेको उनले बताए ।
सामूहिक प्रयास
इटहरीको फोहोर मैला व्यवस्थापन यहाँसम्म आइपुग्न भएको सामूहिक प्रयास अर्को महत्त्वपूर्ण पक्ष हो ।
फोहोर व्यवस्थापन गर्नु इटहरी उपमहानगरपालिका र निजी क्षेत्रको पहिलो कर्तव्य थियो ।
व्यवस्थापन निजी क्षेत्रले गरे पनि फोहोर एक ठाउँमा फाल्नुपर्छ, आफ्नो घर आँगन, पसल व्यवसाय आफैले सफा गर्नुपर्छ । फोहोर जथाभाबी नफाली बिहान गाडीमा हाल्नुपर्छ भन्ने संस्कारको विकास गर्न सामूहिक प्रयास भएको देखिन्छ ।
सुरुका दिनमा सञ्चालन भएका विभिन्न सफाइ अभियानहरूले फोहोर व्यवस्थापनका लागि महत्त्वपूर्ण योगदान गरेका थिए । के आई सी इटहरी अभियान,उद्योग वाणिज्य सङ्घ इटहरी, विभिन्न सामाजिक सङ्घ संस्था, टोल विकास संस्थाहरूको रचनात्मक सहयोगले फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई सहयोग पुगेको थियो ।
इटहरीमा देखिएको सामाजिक अभियानले छिमेकी सहरमा समेत सकारात्मक प्रभाव पारेको थियो ।
के छन् चुनौती ?
उत्पादित ग्याँस बिक्री गर्न बजारको समस्या छैन । तर केही प्राविधिक पक्ष भने अझै चुनौती रहेको कम्पनीको भनाई छ ।
उत्पादित ग्याँस अन्य एल पी ग्यास भन्दा कडा हुने हुँदा भण्डारण, बिक्री गर्ने सिलिन्डर र अन्य केही प्राविधिक पक्ष फरक छन् ।
केही थप मेसिन तथा उपकरण खरिद गर्नुपर्ने भएकाले अर्डर गरिएको र केही समयमा नेपाल आई पुग्ने कम्पनीले जनाएको छ ।
ठुला र बढी तौलका सिलिन्डर भएका कारण भण्डारण र वितरणमा चुनौती छ । त्यसैले कम्पनीले घरेलु प्रयोग भन्दा पनि औद्योगिक बजारलाई प्राथमिकतामा राखेको छ ।
अर्को मुख्य चुनौती कच्चापदार्थको देखिएको छ । दैनिक सञ्चालनका लागि आवश्यक पर्ने कुहिने कच्चापदार्थ सङ्कलन गर्नु चुनौतीपूर्ण छ ।
दैनिक ४० देखी ४५ टन फोहोर उत्पादन हुने इटहरीमा केवल डेढ टन मात्रै कुहिने फोहोर सङ्कलन हुँदा चुनौती देखिएको कम्पनीको भनाई छ ।
प्रशोधन केन्द्रको दीर्घकालीन सञ्चालनका लागि आवश्यक कच्चापदार्थको व्यवस्थापनका लागि स्रोतमै फोहोरको सेग्रिगेसन गर्नुपर्ने उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी बताउँछन् ।
व्यवस्थापन कम्पनीले फोहोरको सेग्रिगेसनका लागि काम गर्नुपर्ने उनको सुझाव छ । यसका लागि उपमहानगरले पनि आवश्यक पहल गरिरहेको उनले बताए ।
यता, अपुग कच्चापदार्थका लागि विकल्प खोजी भइरहेको कम्पनीले जनाएको छ ।
पशु फार्मबाट गोबर, उखु मिलका कच्चा पदार्थ र जङ्गलका झारलाई विकल्पको रूपमा प्रयोग गर्ने योजना बनाएको कम्पनीका सञ्चालक मोक्तानले बताए ।